ईश्वरपुर, २२ कात्तिक – अनुप सेवा समाज बरहथवा नगरपालिका १५ प्रिपाभित्ताले अर्धबाहिनी गंगा स्नान गोल्डकपको उपाधि जितेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेला खैरामा सम्पन्न प्रतियोगितामा हरिपुर युनाइटेडलाई २–० ले पराजित गर्दै अनुप सेवा समाज बरहथवाले उपाधि उचालेको हो । बरहथवाको जितमा दुवै गोल बिकेश लामाले गरे ।
जितसँगै अनुप सेवा समाजले प्रतियोगिताको ट्रफीसहित नगद ५५ हजार ५५ रुपियाँ प्राप्त गरेको छ । उक्त पुरस्कार राशी ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी सुनिता श्रेष्ठ आचार्यले सहयोग गरेको आयोजक सूर्यदीप युवा क्लब खैराले जनायो ।

उपबिजेता हरिपुर युनाइटेडलाई आयोजकले ३१ हजार ५५ रुपियाँ प्रदान गरेको आयोजकका नाथुराम चौधरीले जानकारी दिए ।
बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई ईश्वरपुर नगरपालिकाका उपप्रमुख रन्जितादेवी चौधरी, ईश्वरपुर १० का वडाध्यक्ष राशनारायण चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।