आधुनिक मेसिनबाट धान काट्दै सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका हरि तिरुवा विश्वकर्मा । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०२ कात्तिक – मुख्य चाडपर्वको समयमै सर्लाहीका किसानलाई धान बाली भित्र्याउने चटारो परेको छ ।
जिल्लाका किसान असार अन्तिम तथा साउन लाग्दै रोपिएको धान बाली थन्काउने काममा ब्यस्त देखिन्छन् । कृषि ज्ञान केन्द्र सर्लाहीले धानको चाँडो पाक्ने जात (अर्ली भेराइटी) धमाधम भित्र्याउने बेला भएको जनाएको छ ।
तिहार र छठ पर्वको रौनक छाइरहेको समयमा खेतको धान बाली पाकिसकेको किसान भने पहिले धान बाली भित्र्याउने काममा लागिपरेका छन् । साउनमा खडेरी जाँदा ढिलो गरी रोपिएको धान बाली भने भर्खर पसाउन थालेको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जिल्लामा अहिलेदेखि मङ्सिरसम्म पाक्ने धान बाली लगाइएको जानकारी दिए । उनले भने, “सिँचाई सुविधा कम रहेको क्षेत्रमा लगाइएको चाँडो पाक्ने जातको धान काट्ने बेला भएको छ तर हाम्रोमा धेरै किसानले मङ्सिरतिर पाक्ने धान लगाएका छन् ।”
कुशवाहाका अनुसार आकाशे वर्षाको धेरै भर रहेको चुरेवर्ती क्षेत्रमा प्रायजसो किसानले चाँडो पाक्ने धान रोप्ने गरेका छन् । लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान गोपाल अधिकारीले आफूहरुको क्षेत्रमा अधिकांश किसानले धमाधम धान बाली भित्याइरहेका जानकारी दिए ।
यो वर्ष धान रोप्ने समयमा खडेरी परेर समस्या भएपनि त्यसपछि भने बेलाबेलामा पानी परेकाले धानको उत्पादन राम्रै रहेको किसानले बताएका छन् । धान काट्न र झार्न खेतखेतमै मेसिन पुग्न थालेपछि किसानलाई बाली भित्र्याउन सहज भएको अधिकारीले बताए ।
सर्लाहीमा बागमती सिँचाई आयोजना, विभिन्न खोलाको पानी र विद्युतीय मोटरमार्फत सिँचाई हुने क्षेत्रमा ढिलो पाक्ने धान रोपिएको छ । ब्रह्मपुरी गाउँपालिका–६, का किसान फकिरा रायले दक्षिणी बेल्टमा धेरैजसो किसानले ढिलोगरी पाक्ने धान रोपेकाले छठ पर्वपछि मात्रै धान भित्र्याउन सुरु गरिने जानकारी दिए ।
मध्य असोजमा भएको वर्षाले जिल्लाको दक्षिणी भेगमा धान बाली डुबानमा परेकाले धानको उत्पादनमा असर पर्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।