प्रदेश सांसद् अशोककुमार यादव ।
मलंगवा, ०३ असोज – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादवलाई प्रहरीले आज हिरासतबाट छाडेको छ ।
यादवको आमाको गएराति कविलासी नगरपालिकास्थित सलेमपुर निवासमा निधन भएको थियो । आमाको निधनपछि १३ दिनसम्मको काजकिरिया गर्न यादवलाई आज बिहान हिरासतबाट छाडिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
राईका अनुसार यादवले आमाको १३ दिनको काम सकेपछि पुनः हाजिर हुने प्रतिवद्धता जनाएका छन् । सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रिएपछि यादवलाई प्रहरीले एक साताअघि पक्राउ गरेर हिरासतमा लिएको थियो ।
उनीविरुद्ध प्रहरीले राज्यद्रोहको मुद्दामा कारवाही अघि बढाएको छ ।