logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा राजनीतिक दलले मनाए संविधान दिवस, मधेशवादी दल विरोधमा


  • उज्यालो अभियान

लालबन्दी, ०३ असोज – सर्लाहीमा आज प्रमुख राजनीतिक दलले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुर नगरपालिका ६ मिलनचोक देखि ईश्वरपुर ७ ब्रम्हस्थानसम्म संविधान रक्षार्थ र्याली निकालेको महासमिति सदस्य योगराज देवकोटा (युवराज) ले जानकारी दिए । क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षता तथा संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतको आतिथ्यतामा बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्ज अगाडि कोण सभा गरी कार्यक्रमको समापन गरिएको छ ।

यसैगरी कांग्रेस जिल्ला कार्य समितिले सदरमुकाम मलंगवामा जेनजी पुस्ताले आगजनी गरेको जिल्ला पार्टी कार्यालय भवनमा ‘नेपालको संविधान आजको आवश्यकता र महत्व’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।

यस्तै नेकपा एमाले सर्लाहीले हरिवन नगरपालिका ८ मा रहेको नारायण उप्रेती स्मृति भवनमा संविधान दिवस मनाएको एमाले सर्लाहीका उपाध्यक्ष बिदुरकुमार प्याकुरेलले जानकारी दिए । संविधान दिवसको अवसरमा अहिले साँझ जिल्लाका विभिन्न स्थानमा राजनीतिक दल, दलका भातृ संघसंगठन, समूह, स्थानीय वासिन्दा र कर्मचारीले चोक, बजार र आफ्नो घर तथा कार्यालयमा दीप प्रज्वलन गरेका हाम्रा संवाददाताले जनाएका छन् । तर जिल्लामा मधेश केन्द्रित विभिन्न राजनीतिक दलले भने आज संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका छन् ।

२०७२ सालमा संविधान जारी भएदेखि नै मधेशवादी दलहरु विरोधमा रहेका छन् । सोही क्रममा जिल्लामा क्रियाशील विभिन्न मधेशवादी दलले आज कालो दिनको रुपमा संविधान दिवसलाई मनाएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा सो पार्टीका नेता, कार्यकर्ताले मलंगवाको शहीद चोकमा भेला भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका हुन् ।