मलंगवा, २८ भदौ – स्थानीय प्रशासनले सर्लाहीको सदरमुकाम मलंगवामा निषेधाज्ञा जारी राखेको छ । जिल्लाका अन्य स्थानमा गत विहिबारदेखि जारी निषेधाज्ञा भने हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी आदेश अनुसार शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सदरमुकाम मलंगवामा निशेधाज्ञा जारी गरिएको हो । पूर्वमा झिम नदी, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरीको गण र दक्षिणमा नेपाल–भारत सीमाभित्र निषेधाज्ञा आदेश जारी गरिएको छ । ५ जना व्यक्ति वा सोभन्दा बढीको समूहमा जम्मा हुन नपाउने, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी निषेधाज्ञा आदेश जरिएको प्रजिअ श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
शुक्रबार राती अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले शपथ खाएसँगै मुलुकको अवस्था सामान्य बन्दै गएको छ । शनिबार बिहानैदेखि बजार तथा यातायात क्रमशः सञ्चालन हुन थालेका छन् ।