मलंगवा, १५ भदौ – नेपाल शिक्षक महासङ्घ सर्लाहीको अगुवाइमा आज शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवामा शिक्षकले धर्ना दिएका छन् ।
प्रस्तावित शिक्षा विद्येयकको विरोधमा देशव्यापी कार्यक्रम अन्तर्गत सर्लाही जिल्लामा कार्यरत सामुदायिक विद्यालयका शिक्षकले शिक्षा विकास इकाइमा भेला भएर धर्ना दिएका हुन् । शिक्षकले महासङ्घको मागबारे शिक्षा विकास तथा समन्वय इकाइमार्फत सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
महासङ्घले निर्धारण गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज शिक्षा विकास इकाइमा धर्ना दिइएको लालबन्दी नगर समितिका अध्यक्ष केदार घिमिरेले जानकारी दिए । शिक्षकले यसअघि गएको शुक्रबार पालिकाको कार्यालयमा धर्ना बसेका थिए ।
महासङ्घ र सरकारबिच विगतमा भएका सहमती अनुसार शिक्षा विद्येयक सच्याउन माग गर्दै महासङ्घले आन्दोलन गरिरहेको छ । भदौ २० गतेसम्म आफ्ना माग पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनको कार्यक्रम घोषणा हुने नेपाल शिक्षक महासङ्घले यसअघि नै बताइसकेको छ ।
महासङ्घले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिसत र खुला २५ प्रतिसत हुनुपर्ने माग गरेको छ । प्रस्ताविक शिक्षा विद्येयकमा ६० प्रतिसत आन्तरिक र ४० प्रतिसत खुला हुने व्यवस्था छ ।
यस्तै महासङ्घले विद्यालय कर्मचारीको पद र वेतन तथा बालकक्षा शिक्षकको पद, सेवा सुविधा निश्चित नभएको र अव्यवहारिक सरुवा प्रणालिप्रति समेत असन्तुष्टि व्यक्त गरेको छ ।