logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

डेंगु नियन्त्रणका लागि लालबन्दीमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान


  • उज्यालो अभियान

लालबन्दी, १५ भदौ – डेङ्गु सङ्क्रमण बढेपछि लालबन्दीमा लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरिएको छ ।

“लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोगबाट बच्ने प्रमुख उपाय हो” भन्ने नारासहित लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

लालबन्दी नगरपालिकाभित्र अहिले १४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक एवं जनस्वास्थ्य निरीक्षक रोशन चौधरीका अनुसार सङ्क्रमण भयावह हुन नदिन सचेतनाको कार्यक्रमसहित डेङ्गु गराउने लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ अर्थात खोजी र नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत हिजो पहिलो दिन लालबन्दीको मुख्य बजार क्षेत्रमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सम्पन्न गरिएको छ । नगर अस्पताल डुमडुमेदेखि वडा नं. ९ बस्तीपुर हुँदै वडा नं. ७ को मुख्य बजार क्षेत्र र वडा नं. ६ जनवादी चोकसम्म रहेका सवारी ग्यारेज तथा मर्मत सम्भार केन्द्रमा रहेका थोत्रा टायर र विभिन्न हार्डवेयर पसलले बिक्री गर्न राखेका ड्रममा लामखुट्टे बस्न सक्ने भएकाले त्यस्ता बासस्थान नष्ट गरी सञ्चालकलाई सचेतना अपनाउन अनुरोध गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अभियानमा सहभागी जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, नगर प्रहरीलगायतले सुत्दा झुलको प्रयोग गरौँ, घर वरपर पानी जम्न नदिऊँ, ट्याङकी र कुलर हप्तामा एक पटक सफा गरौँ जस्ता चेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

डेङ्गु नियन्त्रण अभियान अन्तर्गत प्रत्येक वडामा स्थानीय स्वास्थ्य चौकीसँग समन्वय गरी महिला स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना जगाउने काम हुने स्वास्थ्य शाखाका सहसंयोजक चौधरीले बताए । उनका अनुसार भोली आइतबारदेखि नगरभित्रका विद्यालयहरुमा पुगेर विद्यार्थीलाई डेङ्गुबाट बच्ने उपायबारे सचेतना कक्षा सञ्चालन गरिने छ ।

उच्च ज्वरो आउने, आँखाको गेडी वरिपरी तथा टाउको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, जोर्नी, हड्डी तथा माङ्शपेशी दुख्ने, छालामा बिमिरा आउने, शरीरका कुनै पनि भागबाट रक्तश्राव हुने जस्ता लक्षण देखिए नगर अस्पतालमा आएर तुरन्त डेङ्गुको परीक्षण गराउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

यस्तै डेङ्गुका बिरामी बढ्दै गएपछि हरिवन नगरपालिकाले पनि विद्यार्थीमार्फत सचेतना कार्यक्रमलाई तीव्र पारेको छ । हिजो हरिवन नगरपालिका–२, अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालयमा विद्यार्थीलाई भेला पारेर डेङ्गु ज्वरो सम्वन्धी सचेतनामूलक कार्यक्रम गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए ।

डेङ्गु सङ्क्रमण भएपछि ज्वरो कम गर्न पारासिटामोल चलाउनेबाहेक अन्य औषधि र खोप समेत नरहेको र कतिपय अवस्थामा जटिल अवस्था भएका बिरामीलाई भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै चिकित्सकले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सुझाव दिएका छन् ।