नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २८ साउन – सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा अर्थात् ओपिडी संचालन गर्न थालिएको छ ।
पछिल्लो समय सेवामा सुधार गर्दै गइरहेको लालबन्दी नगरपालिका ९ डुमडुमेस्थित अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर गरी कार्यालय समयको २ घण्टा अगावै अर्थात् बिहान ८ बजेदेखि ओपिडी सेवा प्रदान गर्न सुरु गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले दिउँसोपख बिरामीको चाप असाध्य बढ्न थालेपछि बिहानैदेखि ओपिडी संचालन गरेर सेवा प्रदान गर्न सुरु गरिएको बताए । “विगत १ महिनादेखि दिउँसोपख चाप थेग्नै समस्या परिरहेको छ,” डा. चौधरीले भने, “अहिले हामीसँग चिकित्सकहरु पनि पर्याप्त हुुनुहुन्छ, त्यसैले बिहान आठै बजेदेखि ओपिडी संचालन गर्न थालेका छौँ ।”
अस्पतालमा अहिले विशेषज्ञका रुपमा डा. चौधरी र प्रसूति तथा स्त्री रोगतर्फका डा. रामविश्वास राय दनुवार बाहेक पनि अन्य पाँच जना मेडिकल अधिकृत कार्यरत नै छन् । दुई जना मेडिकल अधिकृतको एक महिनापछि करारनामा सक्किन लागेकाले उनीहरु गएपछि प्रदेश तथा संघबाट थप चिकित्सक नपठाइएको खण्डमा भने अहिले ओपिडीमा थपिएको समय पुर्नविचार हुनसक्ने डा. चौधरीले उज्यालो अभियानसँग बताएका छन् ।
छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकले दुई वर्ष करारनामामा काम गर्नुपर्ने प्रावधान अनुसार पाँच जना मेडिकल अधिकृत आएर काम गरिरहँदा नगर अस्पताल लालबन्दीलाई डाक्टर पर्याप्त भएको हो । अस्पतालमा अहिले दैनिक १५० देखि २०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् ।
सामान्य स्वास्थ्य समस्या हुँदा समेत निजी अस्पताल जाने यस भेगका बिरामी अहिले भने सरकारी स्वामित्वको नगर अस्पतालमै आउन थालेका छन् ।
यसैबिच, नगर अस्पताल लालबन्दीमा आज मात्रै रेडियोलोजिष्ट पनि हाजिर भएका छन् । प्रदेशबाट रेडियोलोजिष्ट डा. विवेक केसी हाजिर भएका हुन् ।