लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी, ०२ साउन – लालबन्दी बजार क्षेत्रमा मापदण्डविपरीत सञ्चालित पाँचवटा स्वास्थ्य संस्थालाई सचेत गराइएको छ ।
नगरपालिकाबाट हिजो खटिएको अनुगमन टोलीले अनुमति पत्र नलिएका, अनुमति पत्र लिएर नवीकरण नगरेका, विशेषज्ञ चिकित्सक नबस्ने गरेका जस्ता मापदण्ड विपरीत सञ्चालित स्वास्थ्य संस्थालाई पहिलो पटक सचेत गराएको हो । लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानीले अनुगमनका क्रममा स्वास्थ्य संस्थामा लापरवाही धेरै देखिएको र ति स्वास्थ्य संस्थालाई तत्काल कमी कमजोरी सुधार गर्न मौका दिएको बताए ।
लालबन्दी नगरभित्र अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको व्यापक जनगुनासोपछि नगरपालिकाले स्थानीय प्रशासनसँग समन्वय गरी स्वास्थ्य संस्था अनुगमन गरिरहेको छ । नगरपालिकाले नवलपुर बजारमा अवैध ढङ्गले सञ्चालित आधा दर्जन बढी स्वास्थ्य संस्था सिल गरेको छ ।
नवलपुरस्थित एक स्वास्थ्य संस्था अनुगमनकै क्रममा नगरपालिकाका केही वडाध्यक्ष र बिरामीको उपचारमा लापरवाही गर्ने स्वास्थ्य संस्थाका सञ्चालक तथा स्वास्थ्यकर्मीबिच विवाद समेत भएको थियो । सोही विवादको विषयमा लालबन्दीका तीन जना वडाध्यक्षविरुद्ध चिकित्सकलाई दुव्र्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि स्वास्थ्य संस्थाको अनुगमन नै प्रभावित बनेको छ । लालबन्दी र नवलपुर क्षेत्रमा पछिल्लो समय मनपरीरुपमा स्वास्थ्य संस्था स्थापना गरी सर्वसाधारणलाई जथाभावी उपचार गरी चर्को रकम असुल्नेक्रम रोकिएको छैन् ।