लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी, १५ बैशाख – लालबन्दी नगरपालिकाको कार्यपालिका बैठकले १३२ केभी प्रशारण लाइनको मुनि घर टहरा बनाइ बसेकाहरुको कुरा सुनेर मात्रै लाइन मर्मतको काम अघि बढाउन माग गरेको छ ।
हिजो आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालय सर्लाही र नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखालाई पत्र लेख्दै पीडित जग्गाधनीले राखेको यथोचित माग सम्वोधन गरेर एवं विवाद व्यवस्थापन गरेर मात्रै प्रशारण लाइन मर्मतको काम गर्न आग्रह गरेको हो ।
लालबन्दी नगरपालिकाको वडा नं. १, ६, ८, ९ र १७ मा १३२ केभी प्रशारण लाइन मुनि दर्जनौँ घर टहरा बनेका छन् । २०४३/०४४ सालतिर बिना मुआब्जा प्रशारण लाइन विस्तार गरिएकोमा अहिले आएर एक्कासी विद्युत् प्राधिकरणले प्रशारण लाइनको ९–९ मिटर जग्गा खाली गर्ने र बनेका संरचनाहरु हटाउने भनी सूचना जारी गरेपछि यहाँका स्थानीयहरु आक्रोशित छन् ।
केही समयअघि बसेको नगर कार्यपालिका बैठकले प्राधिकरणको पक्षमा रहेर प्रशारण लाइनमा पर्ने ति जग्गाको सरसिफारिस नदिने भनी निर्णय गरेपछि आक्रोशित स्थानीय अस्ती बिहीबार नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । पीडितले भोली आइतबारदेखि आन्दोलन चर्काउने चेतावनी दिएपछि हिजो शुक्रबार नै कार्यपालिका बैठक बसेर पीडितको कुरा सुनेर मात्रै काम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पीडितहरुको नेतृत्व गरिरहेका नेकपा एमालेका नेता गोविन्द बहादुर महतले ४० वर्षअघि अनेक जोखिम मोलेर प्रशारण लाइन विस्तार गर्न दिएको जग्गामा अहिले आएर उल्टै प्राधिकरणले हचुवाको भरमा सूचना जारी गरेर स्थानीयलाई घर, टहरा हटाउनु भनी आतंक फैलाउने काम गरेको बताए । प्राधिकरणले प्रशारण लाइन मर्मतको काम गर्ने बारम्बार प्रयास गरेपछि आक्रोशित स्थानीयले अवरोध गर्दै आइरहेका छन् ।
यसैबिच लालबन्दी १५ को वडा कार्यालय निर्माणमा देखिएको विवादका विषयमा पर्सी सोमबार नगरपालिकामा छलफल गरिने भएको छ । वडा नं. १५ को झरझरास्थित गुम्बा नजिक बिहीबार वडा कार्यालय शिलान्यास भएपछि आन्दोलित बनेका चिसापानी, सतभैया, बोहोरेडाँडा क्षेत्रका स्थानीय हिजो नगरपालिका घेराउ गर्न आइपुगेका थिए ।
उनीहरुलाई सम्वोधन गर्दै मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिनलगायतले पर्सी दिउँसो नगरपालिका कार्यालयमा छलफल गर्ने सहमती गराइ फर्काएका हुन् ।
चुरेभेगको लामो भूगोल पर्ने लालबन्दी १५ मा जहाँ वडा कार्यालय राख्दा पनि कतै न कतैका वासिन्दालाई अपायक पर्ने भएपछि यो समस्या पेचिलो बन्न थालेको छ ।