लालबन्दी, ७ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
नवलपुरस्थित सर्पदंश उपचार केन्द्रसँगै बन्ने स्वास्थ्य चौकी भवनको पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ र लालबन्दी १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । दुई कोठे स्वास्थ्य चौकी भवन निर्माणका लागि मधेश प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष भट्टराईले बताए ।
उनका अनुसार स्वास्थ्य चौकीको पर्खाल निर्माणका लागि थप १० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । नवलपुरमा नेत्रगन्ज स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्रको भवनबाट संचालन भइरहेको छ ।
आफ्नै भवन निर्माण भएपछि स्वास्थ्य चौकी आफ्नै भवनमा सारिने छ । लालबन्दी १ मा अहिले वडा कार्यालय भवनको पनि अभाव रहेको वडाध्यक्ष भट्टराईले बताए ।