हरिवन, १४ चैत – सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएका र स्वास्थ्य संस्थामै आएर प्रसुति गराउने सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।
“हामी दुई, हाम्रा दुई, स्वस्थ आमा र स्वस्थ बच्चा” भन्ने मूल नारासहित स्वास्थ्य चौकी सासापुरमा गएको साउनदेखि पुससम्म छ महिनाको अवधीमा प्रसुति सेवा लिएका १६१ जना सुत्केरीलाई आज जनही चार हजार रुपैयाँ प्रोत्साहन भत्तासहित सम्मान गरिएको हो । नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, सासापुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं हरिवन ४ का वडाध्यक्ष केशवराज थापा, हरिवन २ का वडाध्यक्ष अर्जुन कुमार योन्जन, हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनलगायत भएर सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेका छन् ।
हरिवनमा सरकारीस्तरमा स्वास्थ्य चौकी सासापुर, सहकारी संस्थाद्वारा सञ्चालित नमूना अस्पताल हरिवन र नेपाल परिवार नियोजन सङ्घ शाखा हरिवनद्वारा सञ्चालित बर्थिङ सेन्टर गरी तीनवटा बर्थिङ सेन्टर रहेका छन् । यि तीनवटै बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रम लागू रहेको र तीनमध्ये जहाँ गएर प्रसुति गराए पनि प्रोत्साहनस्वरुप चार हजार रुपियाँ नगद प्रदान गरिने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
हरिवन नगरपालिकाले दुईवटा बच्चा जन्माउँदासम्म उक्त प्रोत्साहन भत्ता रकम प्रदान गर्ने नीति बनाएको छ । प्रोत्साहन भत्ता प्राप्त गर्न चारपटक स्वास्थ्य संस्थामा आएर गर्भवती जाँच गरेको हुनुपर्ने, टिडी खोप लगाएको हुनुपर्ने, आइरन चक्की र जुकाको औषधि खाएको हुनुपर्ने तथा बर्थिङ सेन्टरमै आएर बच्चा जन्माएको हुनुपर्ने स्वास्थ्य शाखाले जनाएको छ ।
हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले नगरभित्रका सम्पूर्ण गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउन र बर्थिङ सेन्टरमा आएर प्रसुति सेवा लिन प्रोत्साहन होस् भन्ने मुख्य उद्देश्यसहित सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम ल्याइएको बताए । हरिवन नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो ।
गत वर्ष मापदण्ड पूरा गरेका १६९ जना सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरिएको थियो । सासापुर स्वास्थ्य चौकीमा आएर प्रसुति हुने नगरभित्रका गर्भवर्तीलाई घरसम्म नै लिन जाँदा र प्रसुतिपछि घरसम्म पुर्याउन जाँदा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक चौधरीले बताए ।
चौधरीले बर्थिङ सेन्टरमा आएर प्रसुति हुने सुत्केरीलाई नेपाल सरकारले दिने एक हजार यातायात खर्चबाहेक नै नगरपालिकाबाट चार हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने गरिएको बताए ।