logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अत्रौली स्वास्थ्य चौकीका जग्गादाता थपलिया परिवारलाई सम्मान


  • उज्यालो अभियान

अत्रौली, ३० फागुन – सर्लाहीको हरिवन नगरपालिका–२, स्थित अत्रौली स्वास्थ्य चौकीका जग्गादाता स्वर्गिय छविलाल थपलियाको परिवारलाई स्वास्थ्य चौकीले सम्मान गरेको छ ।

दुई दशकअघि नै स्वास्थ्य चौकीलाई १० कठ्ठा जग्गादान गरेका थपलियाकी श्रीमती चित्रमाया, छोराहरु गोेविन्द, राजेन्द्र र मुकुन्दलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको हो । मेयर रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, हरिवन २ का वडाध्यक्ष अर्जुन कुमार योन्जन, वडा नं. १ का वडाध्यक्ष टमबहादुर घिसिङ, वडा नं. ४ का वडाध्यक्ष केशवराज थापा, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, स्वास्थ्य चौकी इन्चार्ज कैलाश कुशवाहालगायत भएर सम्मान गरेका स्वास्थ्य चौकीले जनाएको छ ।

थपलिया परिवारले दिएको जग्गा अहिले करिव ५० लाख मूल्य बराबरको छ । उनीहरुले गाउँमा मन्दिर र चौतारा निर्माण गर्न पनि जग्गा दिनुभएको वडाध्यक्ष अर्जुन कुमार योन्जनले बताए ।

धेरै वर्षअघि जग्गादान गरेका थपलिया परिवारलाई गाउँमा बोलाएर प्रोत्साहनस्वरुप सम्मान गरिएको वडाध्यक्ष योन्जनको भनाई छ । समाजसेवी थपलिया परिवार अहिले अत्रौली गाउँबाट भने बसाई सरेर अन्यत्र गइसकेको छ ।