logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मौसम परिवर्तनसँगै बढ्न थाले रुघाखोकी र ज्वरोका बिरामी


  • उज्यालो अभियान

नवलपुर, २६ फागुन – चिसो कम भई गर्मीयाम सुरु भएसँगै सर्लाहीमा मौसमजन्य सङ्क्रमणका बिरामी बढ्न थालेका छन् ।

चिकित्सकका अनुसार केही दिनदेखि मानिसमा ज्वरो, रुघाखोकी, टाउको दुख्नेजस्ता मौसम परिवर्तनका कारण हुने स्वास्थ्य समस्या बढ्न थालेको हो । विशेष गरी स–साना बालबालिका बिरामी पर्नेक्रम बढेको पाइएको छ ।

नगर अस्पताल लालबन्दीका इन्चार्ज डा. रामविश्वास रायले चिसो र गर्मी छुट्टिने याममा बिरामीको चाप बढ्ने बताए । “गर्मी सुरु भएकाले अब क्रमिक रुपमा बिरामी बढ्दै जान्छन्,” उनले उज्यालो अभियानसँग भने “यो समयमा धुलो, धुँवाको प्रदुषणले पनि मानिसलाई बिरामी पार्छ ।”

डा. रायका अनुसार नगर अस्पताल लालबन्दीमा हिजोआज दैनिक २० जना भन्दा बढी बिरामी ज्वरो तथा मौसम परिवर्तनका बेला हुने स्वास्थ्य समस्या लिएर उपचारका लागि आउन थालेका छन् । उनले गर्मी जति बढ्यो बिरामीको चाप पनि उत्तिकै थपिँदै जाने बताए ।

प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले प्रादेशिक अस्पतालमा पनि ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जानकारी दिए । “ज्वरो र रुघाखोकीका बिरामी दैनिक पाँच÷सात जना थपिन थालेका छन्,” डा. झाले भने ।

उनले गर्मी चढ्दै गएकाले खानपानमा ध्यान दिन, धुँवाको प्रदुषण पनि बढ्न थालेका बाहिर निस्कँदा मास्क लगाउन र स्वस्थ रहने उपायहरु अपनाउन सुझाव दिएका छन् । जिल्लामा अन्य भेगको तुलनामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको देखिन्छ ।

यहाँ सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तुलनामा निजी अस्पताल र क्लिनिकमा उपचारका लागि आउने बिरामी धेरै हुने गर्छन ।