लालबन्दी, २२ फागुन – लालबन्दी नगरपालिकाको मातहतमा रहेको नगर अस्पताल डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसुति सेवा प्रारम्भ गरिएको छ ।
अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर सीएस अर्थात् शल्यक्रिया विधिबाट प्रसुति गराएर बच्चा निकाल्ने सेवा सुरु गरेको हो । अस्पतालका इन्चार्ज एवं प्रसुति रोग विशेषज्ञ डा. रामविश्वास रायका अनुसार गएसाँझ पहिलो पटक सिरहाको मिर्चैया घरभई सिन्धुलीको क्यानखोलास्थित माइती घरमा बस्दै आएकी १९ वर्षीया चण्डिका मगरको सीएस गरेर प्रसुति गराइएको छ ।
मगर नगर अस्पताल लालबन्दीमा प्रसुति गराउन भनी एक सातादेखि लालबन्दीस्थित आफन्तको डेरामा बस्दै आएकी थिईन् । उनलाई तीन दिनदेखि प्रसब बेथा लागेपनि प्राकृतिक हिसाबले प्रसुति नभएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको डा.रायले बताए ।
मगरले तीन किलो ४०० ग्रामको शिशु (छोरी) लाई जन्म दिएकी छन् । अस्पतालका इन्चार्ज डा. रायसहित एनेस्थेटिष्ट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसुति सेवा सुरु भएकोसँगै यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् ।
लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु भमएसँगै अब बालरोग विशेषज्ञको व्यवस्था गर्न लागिपरेको बताए ।