logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२४१ जनाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया


  • उज्यालो अभियान

लालबन्दी, २१ फागुन – सर्लाहीको लालबन्दीमा २४१ जनाको आँखामा देखिएको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया (अप्रेसन) गरिएको छ ।

लायन्स क्लब लालबन्दीले तिलगंगा आँखा उपचार केन्द्र काठमाडौं, श्रीजानकी आँखा अस्पताल जनकपुर र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीसँग समन्वय गरी आयोजना गरेको शिविरमा विभिन्न स्थानबाट आएका २४१ जना मोतिया विन्दुका बिरामीलाई निःशुल्क अप्रेसन गरेर पठाइएको हो । लायन्स क्लबले फागुन १२, १३ र १४ गते लालबन्दी, परवानिपुर र रानिगन्जमा निःशुल्क आँखा परीक्षण शिविर समेत राखेको थियो ।

ती शिविरमा फेला परेका मोतिया विन्दुका बिरामी तथा अन्य ठाउँमा आँखा जाँच गर्दा मोतिया विन्दु फेला परेका बिरामीलाई समेत निःशुल्क अप्रेसन गरेर पठाइएको लान्यस क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार लालबन्दीसहित ईश्वरपुर, बरहथवा, मलंगवा, हरिपुरलगायत विभिन्न पालिकाका बिरामीले शिविरमा आएर मोतिया विन्दुको अप्रेसन गराएका छन् ।

आफ्नै ठाउँमा काठमाडौं तथा जनकपुरबाट आएका नेत्ररोग विशेषज्ञबाट निःशुल्क मोतिया विन्दुको अप्रेसन गराउन पाउँदा वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । लालबन्दी नगरपालिका ९ का ७३ वर्षीय रुद्र काफ्लेले आफ्नै ठाउँमा मोतिया विन्दुको अप्रेसन गराउन पाउँदा खुसी लागेको बताए ।