logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दुई लाख ८० हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने


  • उज्यालो अभियान

मलंगवा, १३ फागुन – सर्लाहीमा दुई लाख ८० हजार ९६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

राष्ट्रव्यापी अभियान अन्तर्गत सर्लाहीमा पनि नौ महिनादेखि १५ वर्षसम्मका सो सङ्ख्याका बालबालिकालाई फागुन १६ गतेदेखि २२ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले जानकारी दिए । यादवका अनुसार सर्लाहीका लागि आवश्यक पर्ने दादुरा–रुबेलाविरुद्धको खोप आज मात्रै प्रदेश आपूर्ति महाशाखा जनकपुरबाट जिल्लामा आइसकेको र तत्कालका लागि स्वास्थ्य कार्यालय मलङ्गवामा स्टोर गरेर राखिएको छ ।

खोप अभियानको औपचारिक उद्घाटन पनि आज भइसकेको छ । सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले खोप कार्यक्रमको उद्घाटन गरेका हुन् ।

जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामा फागुन १६ गतेदेखि एकैसाथ दादुरा–रुबेलाविरुद्धको खोप अभियान चल्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले बताए । कर्मचारी तथा जनप्रतिनिधिबीच विवादले तालाबन्दी तथा आन्दोलन भइरहेका पर्सा गाउँपालिका, चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिकाका स्वास्थ्यकर्मीलाई यो राष्ट्रिय अभियान भएकाले सो अवधिभित्र खोप कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरिएको उनले बताए ।

डा. झाका अनुसार सर्लाहीमा फागुन ११ गतेदेखि १५ गतेसम्म नियमित खोप कार्यक्रम चल्ने भएकाले त्यसको भोलिपल्ट १६ गतेबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने खोप नलगाउन स्वास्थ्यकर्मीको सुझाव छ ।