logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा फागुन १६ देखि २२ गतेसम्म बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने


  • उज्यालो अभियान

लालबन्दी, ६ फागुन – लालबन्दी नगरपालिकाभित्र फागुन १६ गतेदेखि २२ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

आज लालबन्दी नगरपालिका ६ स्थित पुरानो नगरपालिका कार्यालयमा आयोजित नगर स्तरीय खोप समन्वय समिति एवं संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले नगरका १७ वटै वडामा फागुन १६ देखि २२ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप कार्यक्रम चल्ने जानकारी दिए । उनले लालबन्दीमा १८ हजार ३०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेपनि यहाँ बाहिरका विद्यार्थी धेरै आएर पढ्ने गरेकाले त्यो संख्या बढ्न सक्ने बताए ।

लालबन्दीका सामुदायिक र निजी गरी ८४ वटा विद्यालयमा २४ हजार बालबालिका अध्ययनरत छन् । कक्षा १० सम्म पढ्ने विद्यार्थीलाई खोप लगाइने छ ।

त्यस्तै, लालबन्दी नगरपालिकाभित्र पाँच वर्षमुनिका ६ हजार बालबालिका छन् । यो हिसाबले पनि ३० हजार बालबालिका पुग्ने र जति बालबालिका भएपनि खोप पर्याप्त रहेको स्वास्थ्य शाखा संयोजक मिकरानीको भनाई छ ।

मिकरानीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा पुगेर र खोप केन्द्रमा बसेर ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउने छन् । खोप कार्यक्रमबारे स्वास्थ्य शाखा प्रमुख मिकरानी र नगर अस्पताल लालबन्दीका जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले प्रष्ट पारे ।

अन्तक्र्रिया कार्यक्रममा मन्तव्य राख्दै मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापा, लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) लगायतले सबै मिलेर खोप कार्यक्रम सफल पार्नुपर्ने बताए ।

अभिमुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, नगर अस्पताल लालबन्दीका इन्चार्ज डाक्टर रामविश्वास राय, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

खोप अभियानको फागुन १३ गते सदरमुकाम मलंगवामा औपचारिक उद्घाटन हुने मलंगवामै आज आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डाक्टर नवलकिशोर झाले बताएका छन् ।