logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा १५ शैय्याको नगर अस्पताल, मन्त्री सिंह भन्छन–स्वास्थ्य क्षेत्र सुधारमा लाग्या छौँ


  • उज्यालो अभियान

लालबन्दी – मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेशको स्वास्थ्य क्षेत्रको अवस्था सुधार हुँदै गएको दावी गरेका छन् ।

शुक्रबार दिउँसो सर्लाहीको लालबन्दीमा लालबन्दी नगर अस्पतालको सेवा प्रारम्भ एवं जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री सिंहले मधेशलाई स्वस्थ प्रदेश बनाउन लागि परेको बताएका हुन् । उनले प्रदेशभित्र अहिले रहेका प्रादेशिक अस्पतालहरुलाई एक सय शैय्या तथा प्रादेशिक अस्पताल जनकपुरलाई तीन सय शैय्यामा स्तरोन्नति गर्ने र पाँच स्थानमा ५० शैय्याको नयाँ अस्पताल निर्माण गर्ने गरी यो वर्ष बजेट विनियोजन गरिएको बताए ।

यि अस्पताललाई नभइनहुने उपकरणको व्यवस्थापन, आवश्यक जनशक्ति पदपूर्ति र भौतिक पूर्वाधार निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ । मन्त्री सिंहले अब अरुलाई दोष देखाएर उम्किने छुट नरहेको भन्दै मधेश प्रदेशका वासिन्दाले उपचारका लागि भरतपुर, काठमाडौँलगायतका शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य मन्त्रालय लागि परेको बताए ।

प्रदेश सभा सदस्य बेची लुंगेलीले पूर्व–पश्चिम राजमार्गमा जोडिएको लालबन्दी नगर अस्पतालसँग अपेक्षा धेरै रहेको भन्दै यहाँका नागरिकमा विश्वास दिलाएर उपचार सेवा प्रदान गर्न सक्नुपर्नेमा जोड दिईन् । उनले नवलपुरको सर्पदंश उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको आँखा उपचार केन्द्रको संचालन तथा लालबन्दीमा मन्त्री सिंहले नै शिलान्यास गरेका रक्तसंचार केन्द्र (ब्लड बैंक) का विषयमा पनि मन्त्री सिंहको ध्यानाकर्षण गराईन् ।

पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले पछिल्ला वर्षहरुमा जनसंख्याको अत्यधिक चाप बढेको लालबन्दी क्षेत्रमा रहेको यस नगर अस्पतालबाट सहज सेवा प्रवाहका लागि ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर श्रवणकुमार मिश्रले मधेश प्रदेशकै उत्कृष्ट प्रयोगाशाला घोषणा भइसकेको लालबन्दी नगर अस्पतालको प्रयोगशाला र अस्पतालले आगामी दिनमा अझ प्रभावकारी सेवा दिने विश्वास व्यक्त गरे । उनले प्रत्येक पालिकामा जनस्वास्थ्य प्रयोगशाला, प्रदेशमै पहिलो पटक जिन स्क्विेन्सिङ गर्ने उपकरण, प्रत्येक जिल्लामा पीसीआर मेसिनको व्यवस्थासहित स्वास्थ्य क्षेत्रमा थुप्रै सकारात्मक काम भएपनि प्रचारप्रसार नभएको दुःखेसो पोखेका छन् ।

लालबन्दी नगरपालिका–९, मा रहेको ५ शैय्याको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेलाई १५ शैय्याको नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएपछि शुक्रबार औपचारिक कार्यक्रम गरेर अस्पतालको सेवा प्रारम्भ गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले जानकारी दिए । अस्पतालमा अब थाइराइड परीक्षण, सोडियम पोटासियमको जाँच, एक्सरे सेवा र प्रसुतितर्फ शल्यक्रिया (सीएस) सेवा प्रदान गर्ने तयारी रहेको अस्पतालका प्रमुख एवं स्त्री रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले जानकारी बताए ।

नगर अस्पतालमा अहिले केही हप्तादेखि स्त्री रोग विशेषज्ञ डाक्टर राय हाजिर भएर सेवा प्रवाह गर्न थाल्नुभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापा, कांग्रेस प्रदेश प्रदेश कार्य समितिको स्वास्थ्य विभाग प्रमुख सर्मिला थापा, जग्गादाता प्रशान्त आचार्य, कांग्रेसका सीताराम दाहाल, एमालेका गोविन्द बहादुर महत, माओवादी केन्द्रका रामनारायण चौधरीलगायतले शभुकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, नगर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सहभागी भएका कार्यक्रम संचालक लालबन्दी ७ का वडाध्यक्ष कृष्णबहादुर कार्की (गोपाल) ले जानकारी दिए ।