जनार्जन खत्री – दुई दशकदेखि सर्लाहीमा क्रियाशिल रहेको सामरी उत्थान सेवा नामक संस्थाले अहिले सर्लाहीको ५ वटा पालिकामा दलित स्टोरी परियोजना संचालन गरिरहेको छ ।
यस परियोजना अन्तर्गत ४ नगरपालिका र १ गाउँपालिकामा कार्यक्रम भइरहेका हुन् । ती पालिकाहरुमा लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका र चन्द्रनगर गाउँपालिका रहेका छन् ।
सामरीले अगुवाई गरेर बचत समूह तथा सहकारी संस्था पनि संचालनमा ल्याइदिएको छ । चर्चित महिला कृषि सहकारी संस्था जुटपानीकी अध्यक्ष उर्मिला कुमारी नेपाली सामरी उत्थान सेवाले आफ्नो जीवनमा धेरै नै परिवर्तन ल्याइदिएको बताउँछिन् ।
सुरुमा हस्ताक्षर समेत गर्न नसक्ने आफू अहिले दुई÷चार शब्द पढ्न जानेको बताउँछिन् । उनले सुरुमा सामरी उत्थान सेवाबाटै प्रौढ कक्षा पाएपछि आफ्नो जीवनले कोल्टे फेरेको उनी बताउँछिन् । “सुरु–सुरुमा बोल्नै डर लाग्थ्यो, हस्ताक्षर पनि गर्न आउँदैनथ्यो,“ परियारले भनिन्, “पछि संस्था आएर प्रौढ कक्षा दिएपछि मेरो जीवनमा त आमु परिवर्तन आयो ।”
यही संस्थाका कारण दलित बालबालिकाले पढ्ने अवसर पाएका उनले बताईन् । छात्रावृत्ति प्रदान गरेका कारण आर्थिक अवस्था कमजोर रहेका पासवान, मुसहरलगायत दलित परिवारका बालबालिकाले शिक्षाको ज्योति पाएका उनको बुझाई छ ।
सुरुमा घुम्टोभित्र लुक्ने दलित महिलाहरु अहिले घुम्टो उघारेर निर्धक्कसँग बोल्न सक्ने भएका परियारको भनाई छ । परियारले नेतृत्व गरेर संचालित सहकारीको अहिले एक करोड कारोवार पुगिसकेको छ ।
परियारले २० रुपैयाँबाट बचत सुरु गरेको सम्झिईन । “गाउँमा सामरी उत्थान सेवा आएपछि २० रुपैयाँबाट बचत सुरु गरेका थियौँ, अहिले एक करोडको हाराहारीमा पुगेको छ,” परियार भन्छिन्, “पहिले त संस्था आउँदा पैसा खाएर भाग्छ भन्ने हामी सबैको बुझाई थियो तर त्यो होइन् रहेछ संस्था आएपछि त हाम्रो बरु उद्धार भयो ।”
संस्थाले प्रौढ कक्षा दिएपछि दलित महिलामा चेतना बढ्दै गएको र आफूले विद्यालय पढ्न नपाएपनि छोराछोरीलाई पढाएको उनले सुनाईन । हरिपुर नगरपालिका ८ की सन्तरादेवि पासवान पनि १० रुपैयाँबाट बचत गर्न सुरु गरेको सम्झिन्छिन् । संस्थाले आफूहरुलाई बचत गर्न सिकाएको उनको भनाई छ ।
संस्थाले आफूहरुमा चेतनाको आँखा खोलिदिएको पासवानको बुझाई छ । “बचत के हो, छोरा छोरी पढाउने भनेको के हो, हाम्रा बालबच्चा त माछा मारेर बस्थे तर अहिले विद्यालय जान्छन्,” पासवानले भनिन्, “अहिले विद्यालयमा हामी दलितकै बालबच्चा पहिलो, दोस्रो भएको सुन्न पाइरहेका छौँ, यसमा हामी धेरै खुसी छौँ, संस्थाले हामीमा यत्तिको परिवर्तन ल्याइदिएको छ ।”
उनले आफूहरुको बस्तीमा महिला र पुरुषलाई सामरी उत्थान सेवाले नै बेग्लाबेग्लै शौचालयको व्यवस्था गरिदिएको बताउँछिन् । उनले पनि घुम्टो ओढेर बस्ने आफू अहिले आफै उभिएर बोल्न सक्ने भएको सुनाउँछिन् । उनले पनि संस्थाको प्रभावकै कारण छोराछोरीलाई पढाउन थालेको बताउँछिन् ।
पासवानले सामरी उत्थान सेवाकै नेतृत्वमा खोलिएको बचत समूहहरुबाट सहुलियतमा ऋण पाउँदा साहु, महाजनकहाँ ऋण माग्न जानुपर्ने बाध्यता हटेकोमा खुसी छिन् । “दुःख बिराम तथा अप्ठेरो पर्दा सहुलियतमा समूहबाट ऋण लिन पाएका छौँ, जन्मदर्ता नहुनेको संस्थाका सर, म्याडमले पहल गरेर जन्मदर्ता बनाइदिनु भएको छ, नागरिकता नहुनेको नागरिकता बनाइदिनुभएको छ,” पासवानले भनिन् ।
दीपज्योति महिला उत्थान समाजकी अध्यक्ष निर्मला दासको पनि संस्थाले गर्दा जीवनमा निकै परिवर्तन आएको उनी आफै बताउँछिन् । उनले पहिले–पहिले दिदिबहिनीहरु समूहमा बस्न नमान्ने र बालबालिकालाई विद्यालय पढाउन नखोज्ने गरेपनि अहिले अवस्था फेरिएको बताईन् ।
उनले अहिले त मुसहर, पासवानको बच्चालाई पनि विद्यालय पठाउन थालिएको सुनाईन् । “अहिले मुसहर, पासवानका बच्चा पनि पढ्छन्, बालबालिकाका अभिभावक पनि संस्थाबाट तालिम लिएर आयआर्जनको काममा लागेका छन्”, उनले भनिन् । उनले संस्थाबाट कुखुरा, बाख्रा सहयोग पाएपछि थप हौसल्ला मिलेको बताएकी छन् ।
सामरी उत्थान सेवाले अहिले सर्लाहीका लालबन्दी, हरिपुर, हरिवन, कविलासी र चन्द्रनगरमा दलित स्टोरी क्लबमार्फत लेखनको माध्यमले दलितमाथि हुने विभेद अन्त्य गर्ने प्रयास जारी राखेको छ । ३ वर्षदेखि लेखनको माध्यमबाट क्लबहरुलाई परिचालन गर्ने गरिएको संस्थाले जनायो ।
बालबालिकाहरुले नै दलित सम्वन्धी स्टोरी लेख्ने र संस्थाले वेबसाइडमा प्रकाशित गर्ने गरेको संस्थाका मनोज पासवानले बताए । उनका अनुसार संस्थाले २०५९ सालदेखि यहाँ सचेतना, शिक्षा र आयआर्जनका लागि काम गरिरहेको छ । यसबाट १ हजार ५ सय घरधुरी दलित परिवार जोडिन पुगेका छन् । ५० जना दलित बालबालिकालाई प्राविधिक शिक्षा दिएर रोजगारी सिर्जना भएको छ ।
पालिका स्तरमा गठन भएको दलित स्टोरी क्लबका पदाधिकारीले सामरी उत्थान सेवाले आयोजना गरेको विभिन्न कार्यक्रममा अतिथि बनेर आउँदा वा अन्य बेलामा भेट गरेर जिम्मेवार जनप्रतिनिधिलाई आफूहरुको र दलित समुदायको गुनासा, समसया सुनाउने गरेका छन् । उनीहरुले जनप्रतिनिधिसँग जिज्ञाशा पनि राख्ने गर्छन् ।
दलित स्टोरी क्लब हरिपुरका अध्यक्ष फेकन दासले दलितका समस्या र मुद्दा उठान गर्न समूह नै बनाएको बताए । जनप्रतिनिधिले दलितका मुद्दा सम्वोधनका लागि प्रतिवद्धता जनाए पनि पूरा नगरेकोमा उनको चिन्त दुःखेको छ । उनले मधेश प्रदेश सरकारले बनाएको दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
गरिब भएका कारण दलित बालबालिकाले कक्षा १० सम्म मुस्किलले पढेपनि उच्च शिक्षा हाँसिल गर्न नसकिरहेको उनले सुनाए । “दलित विद्यार्थीले जसोतसो १० कक्षासम्म पढ्न पाएका छन्, तर त्यसमाथि आर्थिक अभावले गर्दा पढ्न पाएका छैनन्, ” उनले भने, “रहर हुँदा हुँदै पढ्न नपाएका दलित बालबालिका तथा किशोरकिशोेरीलाई स्थानीय सरकारले सहयोग गर्दिए देखि हुन्थ्यो ।”
हरिपुर २ का उनले आफ्नो गाउँको प्राथमिक विद्यालयमा ९५ प्रतिसत दलित विद्यार्थी पढ्ने गरेको भएपनि अनुगमन नहुँदा विद्यालय राम्रोसँग नचलेको बताए । उनले विद्यालयको नियमित अनुगमन भइदिए दलित बालबालिकाले पनि राम्रोसँग पढ्न पाउने बताएका छन् ।
हरिवन नगरपालिकाको ताइवान बस्तीकी आरती वि.क. ले संस्थाले गर्दा आफ्नो आमाले सिलाईकटाई तालिम लिएर अहिले सिलाई कटाई गरी आर्थिक उपार्जन गरिरहेको बताईन् । उनले आफूले एसएलसी दिएपछि प्रशिक्षक भएर संस्थाकै माध्यमले पढाउने अवसर उनीहरुलाई जन्मदर्ता बनाइदिएको सुनाईन् । उनले संस्थाले पढाई भनेको के हो भनी दलित समुदायमा बुझाउन सफल भएकोमा खुःसी व्यक्त गरेकी छन् ।
दलित महिला अगुवा लक्ष्मी पासवान गरिबीका कारण धेरै मुहसर तथा पासवान समुदायका बालबालिका पढाई छाडेर काम गर्नका लागि हेटौंडा, चितवन, काठमाडौं जाने गरेको बताईन् । “पेट पाल्नै समस्या भएपछि कतिपय राम्रो पढाई भएका बालबालिका पनि कमाउनका लागि हेटौंडा, चितवन, काठमाडौँजस्ता ठाउँमा पुग्छन, त्यसैले उनीहरुले पढाईलाई निरन्तरता दिन सकेका छैनन्,” पासवानले भनिन्, “केही समय काम गरेर फेरि फर्किन्छन्, त्यसैले उनीहरुको पढाई निरन्तर अघि बढ्न सक्दैन्, एउटा यो असाध्य ठूलो समस्या छ ।”
उनले अशिक्षा र गरिबीले गर्दा यस्तो समस्या रहेको बताईन् । उनले दलित बालबालिकाले कम्प्युटर ल्याबको माग निरन्तर गरिरहे पनि सुनुवाई नभएको बताएकी छन् ।
उनले विशेष गरी छोरीलाई विद्यालय तहमै पढ्दापढ्दै विवाह गरिदिने समस्या दलितमा धेरै रहेको बताईन् । “मलाई पढ्न म छ तर बुवाआमाले विवाह गर्दिन केटा खोज्दै हुनुुहुन्छ भनेर धेरै बहिनीहरुले गुनासो गर्छन्, यो पनि ठूलो समस्या छ,” उनले भनिन् ।
आर्थिक अभावले पेट पाल्नै समस्या रहेकाले दलित समुदायमा विविध समस्या रहेको भन्दै पासवानले अब स्थानीय पालिकाहरुले ती दलितका लागि जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुग्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यक ठान्छिन् । सामरी उत्थान सेवाकी कार्यकारी निर्देशक विमला गायक आफू २०५९ सालमा सर्लाहीमा आएर कार्यक्रम सुरु गर्दा र अहिले आएर हेर्दा आकाश–जमिनको परिवर्तन आएको देख्छिन् ।
उनी अब विस्तारै दलित स्टोरी क्लबको प्रभाव बढ्दै गएपछि अझ सकारात्मक प्रभावहरु देखिने विश्वास गर्छिन् । “हामीले अहिले यो दलित स्टोरी क्लबलाई नै बढि भन्दा बढी परिचालन गरेका छौँ, यो नजिता पनि राम्रो देखिँदै छ,” उनले भनिन, “गाउँगाउँका दलितका समस्या, पिर, व्यथा स्टोरीमा आइरहेका छन् ।”
जनजीवन विद्याश्रम जुटपानीका प्रधानाध्यापक भलबहादुर अधिकारी अहिले दलित अभिभावकहरु पनि निर्धक्क भएर विद्यालयमा आएर सल्लाह सुझाव दिने गरेको बताउँछन् । उनले पहिले शिक्षाको महत्व नै नबुझेका अभिभावक पनि अहिले छोराछोरीको शिक्षाप्रति चासो देखाउन थालेकोमा खुसी छन् ।
तर ५–६ कक्षा पढेपछि पढाई छाड्ने दलित बालबालिका धेरै रहेकामा चिन्ता व्यक्त गरे । “हाम्रोमा ५–६ पढेपछि पढाई छाड्ने दलित बालबालिका धेरै छन्,” उनले भने “पछि बुझ्दै जाँदा उनीहरु त पेट पाल्नका लागि आमाबुवासँगै इँटा भट्टामा पो जाँदा रहेछन् ।” प्रअ अधिकारीले विद्यालय प्रथम दलित बालबालिकाले पनि बिचमै पढाई छाडिदिने गरेको सुनाए । यो रोक्न निकै चूनौति रहेको उनले सुनाए ।
प्रअ अधिकारीले आर्थिक रुपमा अतिविपन्न ६ जना दलित बालबालिकालाई विद्यालयले कुनै शुल्क नै नलिई अध्यापन गराईरहेको बताए । उनले विद्यालय पनि आर्थिक रुपमा कमजोर रहेकाले सबै दलित बालबालिकालाई भने निःशुल्क पढाउन नसकिएको बताए ।
कक्षा कोठामा गृहकार्य नगरी आउँदा शिक्षकले पिट्दा पनि कतिपय दलित बालबालिकाले पढाई छाड्ने गरेको पाइएपछि शिक्षकहरुलाई बालबालिकालाई नपिटी फकाईफकाई पढाउन आफूले निर्देशन दिएको प्रअ अधिकारीको भनाई छ । उनले दलित बालबालिकालाई विद्यालय भर्ना गर्न ल्याउन र विद्यालयम टिकाई राख्न चूनौति रहेकाले यसमा जनप्रतिनिधि, संघसंस्था सबै लाग्नुपर्नेमा उनको जोड छ ।
हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार सामरी उत्थान सेवासहितका संघसंस्थाका कारण दलित किशोर किशोरी र महिलामा धेरै परिवर्तन आएको आफूले पाएको बताए । उनले अहिलेको युगमा शिक्षाबाहेक अन्य कुनै ठूलो कुरा नरहेको बताए ।
उनले सामरी उत्थान सेवाको पहलमा दलित स्टोरी क्लबमा आवद्ध भएर दलित किशोर किशोरी सामूहिक रुपमा प्रस्तुत भइरहेको देख्दा खुसी लागेको बताए । उनले एक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढेको कार्य सफल र फलदायी पनि हुने बताएका छन् ।
उनले विपन्न दलित बालबालिकालाई आफ्नो लगानीमा संचालित निजी विद्यायलयमा पठनपापठन गर्न र कम्प्युटर सिक्ने व्यवस्था मिलाउने दलित स्टोरी क्लबको कार्यक्रममा सहभागी भई प्रतिवद्धता जनाएका छन् ।
“ दलित भनेर कुनै पनि किसिमको विभेद हुनु हुँदैन्, म त यो समुदायको उत्थानका लागि व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर छु,” नगरप्रमुख पंजियारले भनेका छन्, “दलित पनि अब पढेर सक्षम हुनुपर्छ, लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गरेर देशको सेवा गर्नुपर्छ ।”