logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्राथमिक स्वास्थ्य कन्द्र बरहथवा प्रदेश सरकारलाई हस्तान्तरण माग गर्दै कांग्रेसको प्रदर्शन


  • उज्यालो अभियान

बरहथवा – प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई ५० शैय्याको अस्पताल बनाउन माग गर्दै नेपाली कांग्रेसले आज (मंगलबार) बरहथवा बजारमा प्रदर्शन गरेको छ ।

बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउन पहल गर्न दबाब दिने उद्देश्यले बरहथवा बजार क्षेत्र र नगरपालिका कार्यालय अगाडि कांग्रेसले र्याली निकालेर प्रदर्शन गरेको हो ।

अघिल्लो वर्षको असोज ९ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको अस्पताल निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । तर अहिले नगरपालिका सो निर्णयबाट पछि हटेको छ ।

नेपाली कांग्रेसका नेता तथा सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार छन् । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमालेका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन् ।

नेपाली कांग्रेसको तर्फबाट बरहथवा नगर प्रमुखका प्रत्यासी विगुप्रसाद चौधरीले कार्यपालिकाको निर्णयानुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल ५० शैय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढाउन दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको उज्यालो अभियानसँग बताए ।

यही माग राखेर आज बिहान १० बजेसम्म बरहथवा बजारका पसल, व्यवसाय बन्द गरियो ।