प्राथमिक स्वस्थ्य केन्द्रको रित्तिएको औषधि पसल । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ ।
स्वास्थ्य बीमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले औषधि नै छैनन् । औषधि आपूर्ति गर्ने संस्थासँग स्थानीय जनप्रतिनिधिले बेलैमा सम्झौता नवीकरण नगर्दा औषधिको अभाव भएको हो ।
स्वास्थ्य बीमा गरेका यस क्षेत्रका बिरामी बाहिरका औषधि पसलबाट औषधि खरिद गरेर खान बाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार पर्ल मेडिटेक भरतपुर, चितवनसँग औषधि आपूर्तिका लागि तीन वर्षे सम्झौता भएको छ ।
प्रत्येक आर्थिक वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारीले सम्झौता गर्न केही समय ढिलो हुँदा औषधि अभाव हुन पुगेको स्वीकार गरेका छन् ।
अहिले भने आफूहरुको तर्फबाट सम्झौता नवीकरण गर्न तयार भएर बसेको अधिकारीले बताए । “हामी सम्झौताका लागि तयार भएर बसेका छौँ, औषधि आपूर्तिकर्ताबाट आज/भोलीमै आउँछु भन्ने जानकारी आएको छ,” वडाध्यक्ष अधिकारीले उज्यालो अभियानसँग भने “बीचमा हामीबीच पनि केही अन्यौलता रह्यो, सरसल्लाह गर्दागर्दै ढिलो हुन पुगेकै हो ।”
अधिकारीले राष्ट्रिय बीमा बोर्डबाट औषधि आपूर्तिकर्तालाई बेलैमा बीमाको रकम भुक्तानि नहुँदा समेत यस्तो समस्या आएको दावी गरेका छन् । बीमा बोर्डले भर्खरै तीन लाख रुपियाँ पठाएको र सम्झौता नवीकरण गर्न आउँदा सो रकम औषधि आपूर्तिकर्तालाई दिएर पठाइने वडाध्यक्ष अधिकारीको भनाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक सुदीप काफ्लेले तिहारपछि औषधि आउने वातावरण बनेको बताए । काफ्लेका अनुसार सर्लाही जिल्लाभर लालबन्दीबाट मात्रै स्वास्थ्य बीमा गरेकालाई निःशुल्क औषधि वितरण हुने गरेको छ ।
यहाँबाट औषधि लिन सिन्धुलीको क्यानखोला क्षेत्रसहित लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, कौडेनालगायत पालिकाका स्थानीय आउने गर्छन् । तर अहिले भने फार्मेसी नै रित्तिँदा स्वास्थ्य बीमा गरेका बिरामी मारमा परेका छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले औषधि अभाव हुनुमा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको कमजोर पाइएको बताए । “नयाँ आर्थिक वर्ष लाग्दै हुनुपर्ने सम्झौता नवीकरण अहिलेसम्म नहुनुमा व्यवस्थापन समितिकै कमजोरी हो,” सोमबार मात्रै अस्पतालको अनुगमनमा पुगेका मेयर अधिकारीले मंगलबार बिहान उज्यालो अभियानसँग कुरा गर्दै भने, “अब भने सम्झौता हुन लागेको जानकारी पाएको छु, तत्काल औषधि आपुर्ति हुन्छ होला !” ।
राष्ट्रिय बीमा बोर्डले सूचीकृति गरे अनुसार स्वास्थ्य बीमा गरेका व्यक्तिले ११ सय थरीका औषधि निःशुल्क पाउनुपर्ने हो । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उपलब्ध जनशक्तिको दक्षताका आधारमा औषधि वितरण गर्दै आइरहेको बताए ।