logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कार्यपालिका बैठककाे निर्णय लुकाईने परम्परा विपरित, चन्द्रनगर गापाकाे निर्णय सार्वजनिक


  • उज्यालो अभियान

मंगलबार सम्पन्न चन्द्रनगर गाउँ कार्पालिककाे बैठकका सहभागिहरु ।

चन्द्रनगर – चन्द्रनगर गाउँ कार्यपालिकाकाे पहिलाे बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेकाे छ ।

मंगलबार सम्पन्न बैठकले गरेकाे निर्णयहरु गाउँपालिकाले बुधबार सार्बजनिक गरेकाे हाे । कार्यपालिका बैठकले गर्ने हरेक निर्णयहरु सार्वजनिक गरिने समेत अध्यक्ष राजकुमार महताेले जानकारी दिए ।

बैठकले अध्यक्ष महतोले पदबहालिका दिन पालिका भित्रका छोरीहरुलाई २० वर्ष पुरा भई १२ कक्षा पास गरी विवाह गरेमा प्रोत्साहन स्वरुप ५० हजार अनुदान दिने प्रस्तावलाई अनुमाेदन गर्दै अनुदान प्राप्त छोरीहरुले स्नातक तह अध्य्यन गर्न कुनै क्याम्पसमा भर्ना भएको प्रमाण सहित पालिका कार्यालयमा निवेदन दिए अध्ययनका लागि थप ११ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेकाे छ । त्यस्तै कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार रुपैंया प्रदान गर्ने नेपाल सरकारबाट निर्णय भएको हुँदा सो रकम वितरणको लागि वडाको जनसंख्याको आधारमा कोभिड-१९ बाट प्रभावित परिवारको पहिचान गरी वडामा रकम विनियोजन गर्ने र २०७९ असार ९ गते सम्म कार्यविधी अनुसार प्रक्रिया पुरा गरी वडाहरुबाट प्रभावित परिवारको नामावली गाउँपालिका कार्यालयमा पठाउने र गाउँपालिकाबाट असार २० गते भित्र कार्य सम्पन्न गर्ने निर्णय गरिएकाे अध्यक्ष महताेले जानकारी दिए ।

त्यसैगरि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि कार्यविधि २०७८ अनुसार समितीहरु पुनर्गठन गरी कार्यहरु अगाडी बढाउने र सो कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन पालिका स्तरमा सेवा केन्द्र स्थापना गरी एक जना अधिकृत स्तरका दक्ष व्यक्तिलाई पूर्णकालिन कार्य गर्न २०७९ असार मसान्त सम्म व्यवस्था गर्ने, नाढीमन ताल नजिकको महादेव मन्दिरको धर्मशाला भवनमा गाउँपालिका कार्यालयका विभिन्न शाखाहरु सञ्चालन हुँदा सांस्कृतिक परम्परा अनुसार विवाह, पुजा, व्रतबन्ध आदि कार्यमा गाउँबासीलाई निकै कठिनाई भईरहेकाले असार मसान्तसम्म शाखाहरु पायक पर्ने ठाउँमा कोठा भाडामा लिई सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेकाे छ ।

त्यस्तै विषयगत समिति र विभिन्न उपसमिति गठन गर्ने तथा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमकाे प्रस्ताव अर्को बैठकमा पेश गर्ने निर्णय समेत बैठकले गरेकाे अध्यक्ष महताेले जानकारी दिए । अध्यक्ष महताेका अनुसार कार्यपालिकाले गरेका निर्णयहरु गाउँसभाबाट समेत अनुमाेदन गराईने छ । विगतमा कुनैपनि पालिकाले कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक नगरी लुकाउने गरिकाे भएपनि चन्द्रनगर गापाका सबै निर्णयहरु सार्वजनिक गरिने समेत अध्यक्ष महताेले प्रतिबद्दता जनाएका छन् ।