लोसपा नेता राजेन्द्र महतोको वडामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शम्भु साह तेली ।
चन्द्रनगर – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको गाउँमा नेपाली कांग्रेसका उम्मेद्वारले वडाध्यक्षमा बाजी मारेका छन् ।
महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका ४७ वर्षीय कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गरे । लोसपाका वरिष्ठ नेता एवं राष्ट्रिय राजनीतिमा समेत चर्चित खेलाडीको रुपमा परिचित राजेन्द्र महतोको गाउँमा ४२ वर्षीय शम्भुले वडाध्यक्षमा विजय हाँसिल गर्दै कांग्रेसको चारतारे झण्डा फराउन सफल भएका छन् । लोसपा वरिष्ठ नेता महतोको वडामा निकै वर्षपछि कांग्रेसले जीतेको हो ।
लोसपा वरिष्ठ नेता राजेन्द्र महतोका दाजु महेन्द्र महतो सुडीले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा पुनः उम्मेद्वारी दिएका छन् । उनी यसअघि पनि चन्द्रनगर गापामा निर्वाचित अध्यक्ष थिए । लोसपा वरिष्ठ नेता राजेन्द्र महतो र अध्यक्षका प्रत्यासी महेन्द्र महतो सुडी दाजुभाईले आफ्नै वडाको वडाध्यक्ष चुन्न गरेको मतदान खेर गएको छ । त्यस्तै राजेन्द्र महतोका भतिजा एवं महेन्द्र महतो सुडीका छोरा उपेन्द्र महतो क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क बाट प्रदेश सभा सदस्य छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भने उक्त वडाबाट राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बाटै रामनारायण महतो कोइरी ८६४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । यो पटकको निर्वाचनमा भने रामनारायण कांग्रेसमा प्रवेश गरे र उनका छोरा राजकुमार महतो स्वयं कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्यासी छन् । त्यस्तै चन्द्रनगर–१ को वडाध्यक्षमा पनि कांग्रेसका राम ईश्वर महतोले ६४६ मत सहित वडाध्यक्षमा बाजी मारे । त्यहाँ निकटम प्रतिद्वन्द्वी लोसपाका सुशिल कुमार रायले ३७१ मत मात्र पाएका छन् ।
दुईवटा वडाको मत गन्दा गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका राजकुमार महतोले अग्रता हाँसिल गरेका छन् । कांग्रेसका महतोले एकहजार ६५९, लोसपाका महेन्द्र महतो सुडीले ९६८ र नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ६११ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा भने कांग्रेसकी मंजु देवीको एकहजार २२७, माओवादीकी गीता देवी महतोको एकहजार २२ र लोसपाकी कुन्ती देवी साहको ९४५ मत रहेको छ ।