logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपुरको मेयरमा कांग्रेसका गोपाल पंजियारको जीत सुनिश्चित


  • उज्यालो अभियान

हरिपुर नगरपालिकामा कांग्रेसबाट मेयरमा बिजयी गोपाल पंजियार (कुर्सीमा बसेर हात उठाएका) सहित कांग्रेस नेता कार्यकर्ताहरु । (तस्बिर ः सामाजिक संजाल)

हरिपुर – हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रत्यासी गोपाल पंजियारको जीत सुनिश्चित भएको छ ।

हरिपुर नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ को मतगणना सम्पन्न भईसकेको छ । यो समाचार तयार पार्दासम्म वडा नम्बर ६ को मतगणना सम्पन्न हुन बाँकी रहेको र उक्त वडाको पनि आधाभन्दा बढी गणना भईसकेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनायो । गन्न बाँकी मतपत्रको तुलनामा निकटतम् प्रतिद्वन्द्वी भन्दा निकै फराकिलो मतान्तर सहित कांग्रेसका पंजियारको अग्रता रहेकाले उनको जीत सुनिश्चित भएको एक कांग्रेस नेताले दाबी गरे ।

हालसम्म सम्पन्न मतगणना अनुसार कांग्रेसका पंजियारले ६ हजार, नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीले तीनहजार ५४०, नेकपा एकीकृत समाजवादीका जमिरुद्धिन मंसुरले दुईहजार ३९१ र नेकपा एमालेका यादव सरकारले एकहजार ९९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरतर्फ पनि कांग्रेसकी निलम देवी राय यादव चारहजार ६०९ मत सहित अग्र स्थानमा छिन् । एकीकृत समाजवादीकी शिला कार्कीको तीनहजार ६६९, माओवादीकी अनिता देवीको तीनहजार १३९ र एमालेकी रेणुका देवी काफ्लेको दुईहजार १३१ मत रहेको छ ।

हालसम्म धनकौल गाउँपालिकाको मात्र अन्तिम मतपरिणाम घोषणा भईसकेको छ । धनकौलको अध्यक्ष र उपाध्यक्षमा क्रमशः कांग्रेसका रामआश्रय साह र अकली सहनी विजयी भएका हुन् ।