logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सशस्त्रद्वारा ´बडेमान`काे सालकाे टुना बरामद्


  • उज्यालो अभियान

जानकीनगर – सर्लाहीकाे हरिपुर नगरपालिका-१ जानकीनगर स्थित जानकीनगर साझेदारी वन क्षेत्रबाट सालकाे टुना बरामद् गरेकाे छ ।

विहिबार दिउँसाे सबा ३ बजे वन क्षेत्रमा लुकाएर राखिएकाे अवस्थामा सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास भूजेल नेतृत्वकाे टाेलीले बडेमानकाे सालकाे टुना फेला पारेकाे हाे । ५७.४० क्युबिक फिटकाे एउटै सालकाे टुना बरामद् गरि डिभिजन वन कार्यालय लालबन्दीलाई आवश्यक कार्बाहीका लागि जिम्मा लगाईएकाे सप्रनाउ भूजेलले जानकारी दिए । अवैध रुपमा कटान गरि तस्करीका लागि लुकाएर राखिएकाे उक्त टुनाकाे २ लाख ८७ हजार रुपैंया मूल्य कायम गरि सशस्त्र प्रहरीले वन कार्यालयमा बुझाएकाे छ । विहिबार सालकाे टुना बरामद् गर्न सब डिभिजन कार्यालय जानकीनगरका प्रमुख सहायक वन अधिकृत सुवाष चन्द्र साहकाे टाेली समेत सहभागी थियाे ।

त्यस्तै सप्रनाउ भूजेल नेतृत्वकाे टाेलीले जानकीनगर जंगल क्षेत्रबाटै ट्याक्टरमा तस्करी हुँदै गरेकाे बडेमानकाे सालकाे टुना नियन्त्रणमा लिएकाे छ । गत चैत १२ गते शनिबार बिहान जानकीनगर वन क्षेत्रबाट कटान गरि प्र. २-०३-००१ त २३८५ नम्बरकाे ट्याक्टरमा सालकाे टुना राखेकाे अवस्थामा सशस्त्र प्रहरीकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे । ट्याक्टरकाे १५ लाख र ३६.७६ क्युबिक फिटकाे १ थान सालकाे टुनाकाे १ लाख ८३ हजार ८०० रुपैंया मुल्यांकन गरि आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय लालबन्दीलाई बुझाईएकाे सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पले जनाएकाे छ ।

पछिल्लाे समय जानकीनगर साझेदारी वन क्षेत्रमा अवैध ढंगले सालका रुखहरु कटान भई तस्करी हुने गरेकाे स्थानीयले बताएका छन् । वन कार्यालयका कर्मचारीहरु, साझेदारी वन उपभाेक्ता समितिका पदाधिकारी लगायतकाे उदासिनता एवं गैर जिम्मेवारपनका कारण वन क्षेत्रमा फँडानी बढेकाे स्थानीय बासिन्दाले आराेप लगाए ।

फाेटाे क्याप्सन : विहिबार जानकीनगर वन क्षेत्रबाट बरामद् भएकाे सालकाे टुना । (तस्बिर : उज्यालाे अभियान)