हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा जारी अन्तर प्रादेशिक स्तरीय भलिबल प्रतियोगितामा विहिबार ३ खेल भएका छन् ।
प्रतियोगितामा विहिबार नवलपुर जिल्ला नवलपरासी, नयाँबजार काठमाडौं र ग्लोबल निर्माण सेवा समाज पिपरीया बिजयी भएका आयोजक लक्ष्मीनाथ युवा क्लब चितायनले जनाएको छ । पहिलो खेलमा नवलपुर जिल्ला नवलपरासीले नवजीवन माध्यमिक विद्यालय जुटपानीलाई लगातार २६–१६ को दुई सेटमा पराजित गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर प्रतियोगितामा अन्तिम समयमा भाग लिन नआएपछि तत्कालै जनजीवन माविका विद्यार्थीहरुलाई बोलाएर नवलपुर जिल्ला नवलपरासीसँग प्रतिस्पर्धा गराइएको हो ।
त्यस्तै, दोस्रो खेलमा नयाँबजार काठमाडौंले सर्लाहीको चन्द्रनगगर गाउँपालिकामा रहेको न्यू एभरेष्ट युवा क्लब बडकुर्वालाई २५–११ र २५–१९ को सेटमा पराजित गरेको छ । तेस्राे खेलमा एभरेष्ट एकेडेमी लालबन्दी ग्लोबल निर्माण सेवा समाज पिपरीयासँग २५–१३ र २५–१८ को सेटमा पराजित भएको छ ।
प्रतियोगिता अन्तर्गत शुकबार दिउँसाे हेटौंडाले पिपरिया तथा नवलपुर जिल्लाले नयाँबजार काठमाडौंसँग सेमिफाइनल खेल खेल्ने लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । शुक्रबारक बिजेताले प्रतियोगिताको उपाधिका लागि भोली शनिबार खेल्ने छन् । प्रतियोगिताको बिजेताले ७५ हजार र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ ।