logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चोरिएका मोटरसाईकल समातेर धमाधम धनीलाई फिर्ता गर्दै ईन्सपेक्टर गिरी


  • उज्यालो अभियान

बुधबार बिहान सम्बन्धित धनीलाई मोटरसाईकलको साँचो हस्तान्तरण गर्दै प्रहरी निरीक्षक भूपेन्द्र गिरी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – ईलाका प्रहरी कार्यालय हरिवनले चोरिएका मोटरसाईकलहरु धमाधम सम्बन्धित धनीहरुलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर भूपेन्द्र गिरी आएसँगै चोरिएका मोटरसाईकल नियन्त्रणमा लिने र सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियान ईलाका प्रहरी कार्यालय हरिनवले तिब्र रुपमा अगाडी बढाएको छ । ईन्स्पेक्टर गिरी आएपछि मात्र हरिवन प्रहरीले १५ वटा चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरिसकेको छ ।

यसैक्रममा बुधबार बिहान हरिवन प्रहरीले ६ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका मोटरसाईकलहरु सबै बजाज कम्पनीको पल्सर त्यसमा पनि २२० सीसीको ३ र २०० सीसीको ३ वटा रहेका छन् । प्रहरी निरीक्षक गिरीले धनीहरुलाई मोटरसाईकलको साँचो हस्तान्तरण गरेका थिए ।

६ वटा मध्ये ५ वटा काठमाडौंबाट चोरिएका हुन् भने एउटा मात्र उपत्यका बाहिरबाट चोरिएका मोटरसाईकल थिए । सबै मोटरसाईकल वास्तविक नम्बर हटाएर नक्कली नम्बर राखेको अवस्थामा नियन्त्रणमा परेका हुन् । प्रहरीले जिम्मा लगाएको ४ वटा मोटरसाईकलको त बीमा नै नभएकाले सम्बन्धित धनीहरु चोरिएको मोटरसाईकल फिर्ता पाउँदा हर्षित बनेका छन् ।

चोरिएका मोटरसाईकलहरु विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचमा क्रममा चालकहरुले कागजपत्र दिन नसकेपछि त्यसै छाडेर जाने तथा सुराकीका आधारमा बराम्द हुने गरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । आफूले हरिवन प्रहरीको नेतृत्व सम्हालेयता चोरिएका १५ वटा मोटरसाइकल सम्बन्धित धनीलाइ जिम्मा लगाइसकेको प्रहरी नीरिक्षक गिरीले बताएका छन् । त्यसरी बरामद् भएका मोटरसाईकल हतार–हतार भन्सार बुझाउने हो भने प्रहरी अधिकृतहरुलाई लाखौं रुपैंया आम्दानी समेत हुने गर्दछ । तर प्रहरी निरीक्षक गिरीले भने त्यसरी हतार–हतार भन्सार बुझाउँदा मोटरसाईकल धनी निकै मारमा पर्ने हुँदा आफूले त्यस्तो काम नगरेको जानकारी दिए ।

मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका संयोजक कमल बुढाथोकी, हरिवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नेत्र मैनाली, वडा नम्बर ५ का वडाध्यक्ष नागेन्द्र साह, बागमती नगरपालिका–४ का वडाध्यक्ष कृष्ण लामा लगायतले चोरिएका मोटरसाईकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई फिर्ता गरिनु सह्रानिय भएको भन्दै हरिवन प्रहरीको प्रशंसा गरे । साथै उनीहरुले लागूऔषध नियन्त्रणमा विशेष अभियान चलाउन सके चोरी लगायत अपराधिक घटनामा कमि आउने सुझाव समेत सुरक्षा निकायलाई दिएका छन् । कार्यक्रममा बोल्दै बीमा नभएकाले माया मारिसकेको मोटरसाईकल फिर्ता पाउँदा आफू अत्यन्त हर्षित भएको काठमाडौं बानेश्वरका सुनिल गौतम बताए ।

प्रहरी निरीक्षक गिरीले केही दिनअघि मात्र बागमती नगरपालिका–३, धरहराबाट झण्डै ५ लाख रुपैंया नगद सहित १२ जना जुवाडेलाई पनि नियन्त्रणमा लिएर जुवातास नियन्त्रण ऐन अनुसार कार्बाही प्रकृया चलाएका थिए । उक्त स्थानमा बारैमास जुवा हुने गरेको गुनासो आईरहेको थियो । सामाजिक विकृति एवं अपराध नियन्त्रणको लागि आफू अभियानमा लागेको प्रहरी निरीक्षक गिरीले बताए ।