logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अधिवेशन स्थगित गरेकै दिन सर्लाहीमा संस्थापन पक्षबाट कांग्रेस सभापतिको उम्मेद्वार घोषणा


  • उज्यालो अभियान

नेपाली कांग्रेसको आगामी जिल्ला अधिवेशनमा सुरेन्द्रप्रसाद सिंहद्वारा सभापतिको उम्मेद्वारी घोषणा कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)
कार्यक्रमको मञ्चमा उपस्थित नेताहरु एकअर्काको हातमा हात समाएर सभापतिका उम्मेद्वार सुरेन्द्रप्रसाद सिंहप्रति ऐक्यवद्धता जनाउँदै । (तस्बिर : कृष्णप्रसाद थपलिया)

लालबन्दी – नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्रप्रसाद सिंहले आगामी जिल्ला अधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेस संस्थापन पक्षले शुक्रबार लालबन्दी स्थित होटल आर्या ईननमा आयोजित एक समारोहबीच जिल्ला उपसभापति सिंहलाई आगामी जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट जिल्ला सभापतिको उममेद्वारी घोषणा गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयले भने शुक्रबार दिउँसै बाँकी १६ वटा जिल्लाको अधिवेशन स्थगितको सूचना प्रकाशित गरेको थियो । केन्द्रले स्थगितको सूचना प्रकाशित गरेकै दिन सर्लाहीमा भने संस्थापन पक्षबाट हतार हतार जिल्ला सभापतिको उम्मेद्वार घोषणा भएको छ ।

उम्मेद्वारी घोषणा कार्यक्रममा कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादव, पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संघीय सांसद् एवं वर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय, कांग्रेस मधेश प्रदेश समितिका उपसभापति एवं मधेश प्रदेश सरकारका महिला बालबालिका एवं युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह लगायतको उपस्थिती रहेको थियो । उपस्थित सबै नेता कार्यकर्ताहरुले आगामी जिल्ला अधिवेशनमा सुरेन्द्रप्रसाद सिंहलाई जिल्ला सभापतिमा विजयी गराउन आग्रह गरेका थिए । मञ्चमा उपस्थित नेताहरुले एकअर्काको हात हातमा समाएर सभापतिमा सिंहप्रति ऐक्यवद्धता जाहेर गरेका थिए ।

महाधिवेशन प्रतिनिधी एवं पूर्व क्षेत्रीय सभापति प्रमोद बरालको संचालन रहेको कार्यक्रममा सयौं कांग्रेसी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । वर्तमान जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार राय क्षेत्र नम्बर २ को अधिवेशनमा महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कांग्रेस संस्थापन अर्थात केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंहले आगामी जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् ।

संस्थापन ईतर पक्षबाट भने पूर्व जिल्ला सभापति लक्ष्मण रायले यसअघि नै जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् । संस्थापन ईतरबाट लक्ष्मण रायको उम्मेद्वारी पहिला नै घोषणा भएको र संस्थापन पक्षबाट उम्मेद्वारी हुने करिब करिब पक्का भएपनि वर्तमान जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उक्त पक्षको जिल्ला सभापतिको उम्मेद्वार को हुने भन्नेमै अन्यौल देखिएको थियो । संस्थापनको उम्मेद्वारमै अन्यौलता देखिदा ईतर पक्षले फाईदा उठाउन सक्ने त्रासका कारण संस्थापन समूहले कोरोना भाईरस संक्रमणका बीच हतार हतार शुक्रबार सिंहलाई जिल्ला सभापतिको उम्मेद्वार घोषणा गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयले भने कोरोना भाईरस संक्रमणका कारण आगामी माघ १५ गते तोकेको जिल्ला अधिवेशन स्थगित गरिसकेको छ ।

उम्मेद्वारी घोषणा कार्यक्रममा विगतमा संस्थापन पक्षमै रहेका वर्तमान जिल्ला सचिब एवं कांग्रेस मधेश प्रदेश संसद्का सचेतक उपेन्द्र प्रसाद कुशवाहा, संविधान सभासद् हरेस महतो, जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, बागमतीका युवा नेता कृष्णजंग रायमाझी लगायत नेताहरुको उपस्थिती थिएन । यद्यपी अनुपस्थित ती सबै नेताहरुको समर्थन आफूहरुलाई रहेको जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्रप्रसाद सिंहको दाबी छ ।

कांग्रेस सर्लाहीमा पालिका र जिल्ला अधिवेशन हुन बाँकी छ । निकै ठूलो विवादका बीच कांग्रेस सर्लाहीले वडा, प्रदेश र क्षेत्रीय अधिवेशन भने सकेको छ ।