logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हुलाकी सडकबारे आज दिउँसो छलफल हुँदै


  • उज्यालो अभियान

सर्लाहीको हरिपूर्वाहुँदै सदरमुकाम मलंगवासम्म पुग्ने धूलाम्मे हुलाकी सडक । (तस्बिर : जनार्जन खत्री/उज्यालो अभियान)

मलंगवा – सर्लाहीको हुलाकी सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले आज (शनिवार) दिउँसो बृहत सर्वपक्षिय छलफल हुँदैछ ।

अत्यन्त जर्जर अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्यलाई गति दिन सदरमुकाम मलंगवामा सर्वपक्षिय छलफल राखिएको हो । जिल्लाका संघीय तथा प्रदेश सांसद, पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, दलका नेता, नागरिक समाज लगायतलाई सहभागी गराई सडक निर्माणको निगरानी गर्ने नियामक हुलाकी कार्यालय र ठेकेदारबीच छलफल गर्न लागिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले उज्यालो अभियानलाई जानकारी दिए ।
समन्वय समितिकै सभा हलमा मध्यान्ह हुने छलफलमा सडकको निर्माण कार्य अलपत्र छाड्नुको कारणबारे नियमनकारी कार्यालयका प्रमुख र ठेकेदारसँग सोध्ने र निर्माण कार्यलाई तत्कालै गति दिन कसरी अगाडि बढ्ने भन्ने बारेमा कुरा हुने सभापति चौधरीले बताए । सर्लाहीको पूर्व संग्रामपुरदेखि पश्चिम बलरासम्मको सडक अहिले अत्यन्त दयनीय अवस्थामा छ ।

बर्षायाममा अत्यधिक हिलाम्मे र जलमग्न हुने सडकमा अहिले कुहिरीमण्डल भएर धूलो उड्दा जनजीवन आक्रान्त बनिरहेको छ । सडकको धूलोले यात्रु र छेउछाउ घर भएकाहरु आजित भइरहेका छन् । मलंगवादेखि पूर्व संग्रामपुरसम्म एक खण्ड, मलंगवादेखि पश्चिम रोहुवासम्म अर्को र रोहुवादेखि बलरासम्म गरी तीन खण्डमा सडक ठेक्का लागेपनि निर्माणको कामले गति लिन सकेको छैन् । जर्जर हुलाकी सडक तत्कालै बनाउँछौँ भन्दै प्रत्येक सरकारका मन्त्रीले कयौँ पटक आश्वासन दिएपनि सडक नबन्दा दक्षिणी भेगका नागरिक दुःखी भइरहेका छन् ।