logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

विद्यालयमा सशस्त्र प्रहरीको क्याम्प राखियो, स्थानीयद्वारा विरोध


  • उज्यालो अभियान

ब्रम्हपुरी गाउँपालिका–५, सखुअवा स्थित प्राथमिक विद्यालय भवनलाई तारबारले घेरेर स्थापना गरिएको सशस्त्र प्रहरी बलको बीओपी । (तस्बिर : उज्यालो अभियान)

ब्रम्हपुरी – जिल्लाको दक्षिणी क्षेत्र भारतीय सिमासँग जोडिएको ब्रम्हपुरी गाउँपालिका स्थित एक विद्यालय भवनमै सशस्त्र प्रहरी बलको क्याम्प स्थापना गरिएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

ब्रम्हपुरी गाउँपालिका–५, सखुअवा स्थित प्राथमिक विद्यालयको भवनमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षार्थ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । यही कात्तिक ६ गते सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्णभक्त ब्रम्हाचार्यले बीओपीको उद्घाटन गरेका थिए । डीआईजी ब्रम्हाचार्यले गत कात्तिक ६ गते एकैदिन सर्लाहीको भारतीय सिमाक्षेत्र स्थित ब्रम्हपुरी गाउँपालिका–५ को सखुअवा सहित गोडैता नगरपालिका–३ को बहादुरपुर, मलंगवा नगरपालिका–५ कोभाँडसरमा बीओपी उद्घाटन गरेका थिए । हुलाकी राजमार्गसँगै दक्षिणपट्टि सटेको सपही खोला किनार स्थित उक्त विद्यालय भवनमा सशस्त्र प्रहरी बलको क्याम्प स्थापना गरिएपछि स्थानीय अभिभावक, शिक्षक लगायतले आक्रोश व्यक्त गरेका छन् ।

सहायक प्रधानाध्यापक जयराम रायका अनुसार २०४५ सालमा स्थापना भएको विद्यालयमा हाल १५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र तीनजना दरबन्दी, एकजना राहत कोटाको शिक्षक तथा दुईजना बालविकासका शिक्षिका एवं एकजना परिचर कार्यंरत रहेका छन् । ‘हाँमी शिक्षक, अभिभावक लगायत कसैलाई जानकारी नदिई एक्कासी तारबारले घेरेर विद्यालय भवनलाई सशस्त्र प्रहरीको क्याम्प बनाएको देख्दा त अचम्मित बनेका छौं’, रायले भने, ‘अहिले त हाम्रो पनि अन्तै सरुवा गरिसकिएको छ रे भन्ने हल्ला सुनेका छौं ।’

गाउँपालिकाका अध्यक्ष विनोद साहको षडयन्त्रमा वर्षौंदेखि चलिरहेको विद्यालयलाई सशस्त्र प्रहरी क्याम्पमा रुपान्तरण गरिएको स्थानीय अभिभावक विद्यानन्द यादवले आक्रोश व्यक्त गरे । ‘यो हाम्रो रगत पसिनाले स्थापना गरिएको विद्यालय हो’, यादवले भने, ‘यहाँको विद्यालय अन्तै सार्ने वा अन्य कुनै षडयन्त्र हाँमीलाई स्वीकार्य हुँदैन ।’ स्थानीय अभिभावकहरुसँग सल्लाह नै नगरी गाउँपालिकाले विद्यालय भवन सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न दिनु ठूलो षडयन्त्र भएको यादवको भनाई छ ।

सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख डीआईजी ब्रम्हाचार्यले भने स्थानीय सरकारले तत्कालका लागि वीओपी राख्न विद्यालय भवन उपलब्ध गराएको जानकारी दिए । ‘विद्यालय बन्द गरेर बीओपी स्थापना गर्नु हुदैन भनेर मैले त्यतिखेरै भनेको थिएँ, तर उहाँहरुले तत्काललाई हो, स्कूल चल्ने बेलासम्म कि विद्यालय नै सार्छौ कि त तपाईहरुलाई नयाँ ठाउँमा भवन बनाईदिन्छौं भन्नुभयो’, डीआईजी ब्रम्हाचार्यले उज्यालो अभियानसँग भने, ‘उहाँहरुले स्कूललाई अर्को जग्गा छुट्याईसकिएको भनेपछि क्याम्प स्थापना गरिएको हो ।’ सशस्त्र द्वन्द्वकालमा पनि विद्यालय भवनमा सुरक्षा क्याम्प स्थापना नभएको र हालको अवस्थामा स्कूलको घरमा सशस्त्र प्रहरीको क्याम्प राख्दा अलि अफ्ठ्यारो महसुस भएन र ? भन्ने उज्यालो अभियानको प्रश्नमा डीआईजी ब्रम्हाचार्यले भने, ‘अलि अनईजी त भएकै हो तर स्थानीय सरकारबाट हाल विद्यालय सञ्चालनमा नरहेको र विद्यालय सञ्चालनमा आउने समयसम्म सबैकुरा मिलाईसक्छौं भन्ने प्रतिबद्धता आएपछि तत्काललाई क्याम्प स्थापना गरिएको हो ।’

ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले भने विद्यालय खोला किनारमा रहेको र गाउँलेका लागि पनि अपायक रहेकाले सशस्त्र प्रहरीलाई त्यहाँ राखिएको बताए । उक्त भवन जीर्ण भइसकेकाले विद्यालयलाई बीच गाउँमा रहेको धर्मशालामा राम्रा कोठाहरु भएकाले त्यहिँ सारेर पठनपाठन सञ्चालन गरिने गापा अध्यक्ष साहको भनाई छ । ‘चाँडै धर्मशालाको जग्गामा नयाँ विद्यालय भवन बनाउछौं र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्छौं’, अध्यक्ष साहको दाबी छ, ‘रजिष्टरमा धेरै विद्यार्थी संख्या देखाएपनि सखुअवा प्राविमा नियमित अध्ययन गर्न आउने विद्यार्थी ३०/३५ जना मात्रै रहेका छन्, त्यस गाउँका धेरैजसो विद्यार्थी भेल्हीमा रहेको माध्यमिक विद्यालयमै पढन आउने गरेका छन्, त्यसैले अब सबै विद्यार्थीलाई पायक पर्ने गरी धर्मशाला भवनबाट सो विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।’