logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईलाका प्रहरी कार्यालय बरहथवामा डीएसपीको कमाण्ड


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको बरहथवा स्थित ईलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डीएसपी) ले कमाण्ड (नेतृत्व) गर्ने भएका छन् ।

प्रहरी निरीक्षक (ईन्स्पेक्टर) को नेतृत्वमा रहँदै आएको ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुखमा अबदेखि डीएसपीलाई खटाईने भएको छ । प्रहरी प्रधान कार्यालयले तत्काललाई काजमा प्रनाउ उद्यव सिंह भाटलाई ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुखको रुपमा खटाईसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रनाउ मदन कुँवरले जानकारी दिए । प्रनाउ भाट भोली (बुधबार) बरहथवा आउने बताईएको छ ।

जिल्ला सुरक्षा समितिले सर्लाहीको हरिवन स्थित ईलाका प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बरहथवामा डीएसपीको दरबन्दी माग गर्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो । हाल दरबन्दी सृजना भईनसकेकाले तत्काललाई बरहथवामा काजमै भएपनि डीएसपी खटाईएको र निकट भविष्यमा दुवै ईलाका प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी सृजना गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ ।

बागमती नदी किनारमा रहेको एकान्त ठूलो फाँटलाई प्रयोग गरेर अपराधीहरुले सर्लाही र रौतहट दुवैतर्फ अपराधिक कृयाक्लाप गर्दै आईरहेकाले ईलाका प्रहरी कार्यालय बरहथवाले हेर्ने क्षेत्र संवेदनशिल मानिन्छ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरेर ईलाका प्रहरी कार्यालय बरहथवामा तत्काल काजमा भएपनि डीएसपी खटाईएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो ।

जिल्ला स्थित ईलाका प्रहरी कार्यालयहरु मध्ये बरहथवाले पहिलो पटक डीएसपी नेतृत्व पाएको हो ।