चक्रघट्टा, २६ कात्तिक – गाडी दुर्घटनामा परेर १३ जना गाउँपालिकावासीको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार (भोली) शोक बिदा दिएको छ ।
आज बिहान मकवानपुरको चिसापानी गढीमा विद्युतीय गाडी हायस दुर्घटनामा परेर चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ सूचना जारी गर्दै १३ जना गाउँपालिकावासीको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको जानकारी गराएका छन् ।
अब भोली शुक्रबार चक्रघट्टामा वडा कार्यालय, गाउँपालिका कार्यालय, विद्यालयलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् ।
यस्तै गाउँपालिकाले प्रत्येक मृतक बराबर ५० हजार रुपैयाँ अन्तिम संस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
मृतकहरुको भोली अन्तिम संस्कार गर्ने तयारी छ ।