लालबन्दी, १४ भदौ – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र बसोवास गर्ने नेवार समुदायले आज गाईजात्रा पर्व मनाएका छन् ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्त र भर्खरै भोटेकोशी बाढीमा परेर मृत्यु भएकाहरुको सम्झनामा गाईलाई सिँगारी बाजागाजा र नाँचगानसहित नगर परिक्रमा गरिएको हो । भिमेश्वर गुठी सञ्चालक संस्थाको आयोजनामा लालबन्दीका नेवार समुदायले केही वर्षदेखि यसरी गाईजात्रा पर्व मनाउँदै आएका छन् ।
यहाँका नेवार समुदाय आफ्नो भेषभुषा र पहिरनसहित गाईजात्रा पर्वको अवसरमा आयोजित नगर परिक्रमामा सहभागी भएका हुन् । परम्परागत सांस्कृतिक पर्व गाईजात्राको संरक्षण गर्ने मुख्य उद्देश्यले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको भिमेश्वर गुठी सञ्चालक संस्थाका अध्यक्ष सूर्यबहादुर श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार गाईजात्राको अवसरमा महेन्द्र राजमार्गस्थित लालबन्दी बजार क्षेत्रमा नगरपरिक्रमासहित लाखे नाँचसमेत प्रदर्शन गरिएको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । सोही प्रचलन अनुसार नै लालबन्दी नगरपालिकाभित्र बसोवास गर्ने नेवार समुदायका मानिस एकत्रित भइ केही वर्षदेखि लाखे नाँच प्रदर्शन गर्दै गाईजात्रा पर्व मनाउन थालेका हुन् ।