logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

अनुदानको मल कालोबजारीमा बेच्ने तीन जना पक्राउ


  • उज्यालो अभियान

मलंगवा, २१ साउन – अनुदानको मलखाद कालोबजारीमा बिक्री वितरण गर्ने तीन जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–१०, मा रहेको कृष्ण जेनरल स्टोर किराना पसलबाट अनाधिकृत रुपमा कालोबजारीमा मलखाद बिक्री गरेको आरोपमा मलंगवा–७, बस्ने २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई पक्राउ गरिएको हो । उनीहरुलाई सोधपुछ गर्दा अनुमति बिना डिएपी मल तीन हजार पाँच सय रुपियाँसम्ममा बिक्री गरिरहेको स्वीकार गरेका छन् ।

प्रहरीले उनीहरुको पसल खानतलासी लिँदा चार बोरा डिएपी र एक थान युरिया मलसमेत बरामद गरेको छ । उक्त मलखाद मलंगवा नगरपालिका–४, शिवसागर चोकका २८ वर्षीय राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट तीन हजार दुई सय रुपियाँमा खरिद गरेर ल्याइ आफूहरुले तीन हजार पाँच सय रुपियाँमा बिक्री गर्ने गरेको बयान दिएका छन् ।

अभिनय र अभिनन्दनको बयानका आधारमा प्रहरीले राहुललाई पनि नियन्त्रणमा लिएको छ । राहुलको पसलबाट समेत सात बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

तीनै जनाविरुद्ध कालोबजारी सम्वन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए ।