चन्द्रनगर, १८ वैशाख – मधेश प्रदेशकै ठूलाे प्राकृतिक ताल नाढीमन ताल परिसरमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ ।

सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा चन्द्रनगर गापास्थित नाढीमन ताल परिसरमा आयाेजित तीनदिने महाेत्सव विहिबार साँझ सम्पन्न भएकाे हाे । महाेत्सव समापन समाराेहका अवसरमा उत्कृष्ट फिल्मकाे रुपमा मोहर, उत्कृष्ट निर्देशकमा ओम प्रतीक गुरुङ (मोहर), उत्कृष्ट अभिनेतामा नाजीर हुसेन (गुन्युचोलो), उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्त (कोशेढुंगा), उत्कृष्ट स्क्रिन प्लेमा समुन्द्र भट्ट/नाजीर हुसेन (गुन्युचोलो), जुरी अवार्ड निर्देशकमा मिलन तामाङ (माइतीघर), इन्करेजमेण्ट अवार्डमा मन्जिल कुमार (कोशेढुंगा), उत्कृष्ट सम्पादकमा नहकुल खड्क (कोशेढुंगा), उत्कृष्ट छायाँकारमा बाबु श्रेष्ठ (कोशेढुंगा), उत्कृष्ट आदिवासी फिल्म निर्देशक किरण राइ (नाक्छोंग), उत्कृष्ट शर्ट फिल्म निर्देशकमा निर्मल पौडेल (निलो आकाश) लगायत अवार्ड सहित सम्मानित भएका छन् ।
मधेशका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू गरिएकाे महोत्सवमा नेपाली सहित विभिन्न भाषाका १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो भने विभिन्न जातजातिका भेषभूषा र पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षता एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीकाे प्रमुख आतिथ्यता रहेकाे समापन समाराेहमा चलचित्र निर्माता छविराज ओझा, जिल्ला समन्वय समितिका उपप्रमुख जीतेन्द्र कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी, हरिपुर नगरपालिकाका प्रमुख गाेपाल पंजियार लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार-प्रसारमा ठूलो योगदान पुगेको बताए ।
पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौं संस्करणले मधेशमा नेपाली सिनेमाको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ । विशेषगरी नाढीमन ताल लगायत चन्द्रनगर गाउँपालिका सहित आसपासका क्षेत्रहरुकाे पर्यटकीय स्थलहरुकाे प्रचार-प्रसार एवं नेपाली चलचित्र छायांकनकाे सम्भावनाका लागि महाेत्सब काेशेढुंगा सावित भएकाे वक्ताहरुकाे धारणा थियाे ।
धन्यवाद ज्ञापनसहित कार्यक्रमकाे समापन चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय किशाेर साहले गरेका थिए ।