नाढीमन, ०३ बैशाख – पहिलो पटक मधेश प्रदेशको सर्लाहीमा आयोजना हुन लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी सुरु गरिएको छ ।
आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले आज पत्रकार सम्मेलन आयोजना गरी बैशाख १५, १६ र १७ गते सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा हुन लागेको पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवबारे जानकारी दिएको हो ।
महोत्सवमा ग्रामीण परिबेसमा बनेका सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषीका चलचित्र प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले पत्रकार सम्मेलनमा बताए ।
चलचित्र पत्रकार संघका महासचिव समेत रहेका सापकोटाका अनुसार बैशाख १५ गते स्थानीय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुतिसहित तीन दिनको कार्यक्रममा चलचित्र प्रदर्शनी, चलचित्र क्षेत्रका विज्ञसँग अन्तरक्रिया र उत्कृष्ट चलचित्रलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । गोरखा, काभ्रे, रामेछाप र रसुवापछि अब पाँचौं संस्करणको चलचित्र महोत्सव गर्न लागिएको आयोजकले बताएको छ ।
मधेश प्रदेशमा भोजपुरी र मधेसी चलचित्र बढी रुचाउने दर्शकलाई अब नेपाली चलचित्रतर्फ पनि आकर्षित गर्ने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष सापकोटाले बताए । यहाँ चलचित्र महोत्सव गरेपछि मधेशको पर्यटन प्रवर्द्धन र चलचित्रको छायाङ्कन गर्ने थलोसमेत बनाउने उद्देश्य रहेको उनको भनाइ छ ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र महोत्सवमार्फत गाउँपालिकाको सम्पदाको रुपमा रहेको नाढीमन तालको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मधेश प्रदेशकै ठुलो प्राकृतिक र ऐतिहाँसिक नाढीमन तालमा देशभरका चलचित्रकर्मी ल्याएर चलचित्र महोत्सव गर्न पाउँदा खुसी लागेको महतोले पत्रकार सम्मेलनमा बताए ।