चिसो छल्न घुर (आगो) बालेर ताप्दै गरेका बालबालिका । (तस्बिर : रितिक यादव/उज्यालो अभियान)
लालबन्दी, २० पुस – सर्लाहीमा फेरि दुई दिनदेखि घाम नलागेर निरन्तर शीतलहर जारी रहँदा जनजीवन कष्टकर बनिरहेको छ ।
यहाँ आज बिहानैबाट बाहिर निस्कँदा भिज्ने गरी शीतलहर चलिरहेको हो । हिजो पनि दिनभर घाम नलागेर शीतलहर चली रह्यो ।
यसअघि बिहीबार र शुक्रबार दिउँसोपख पारिलो घाम लाग्दा जनजीवन केही सहज बनेको थियो । तर हिजो शनिबारदेखि पुनः घाम नलाग्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, विपन्न र मजदुर बर्गका मानिस प्रभावित बनेका छन् ।
हुस्सु, कुहिरोका कारण दैनिक जनजीवनसँगै यातायात र हवाइ क्षेत्रसमेत प्रभावित बनिरहेको छ । अत्यधिक चिसो र शीतलहरका कारण अत्यावश्यक काम परेर यात्रा गर्नुपर्ने मानिसहरु बढी प्रभावित छन् । विद्यालय जानुपर्ने बालबालिका, कार्यालयहरुमा सेवा लिन पुग्ने सेवाग्राही र सेवा प्रवाह गर्नुपर्ने कर्मचारीलाई पनि चिसो स्याँठ, बाक्लो हुस्सु र कुहिरो तथा शीतलहरले समस्या पारिरहेको छ ।
हुस्सु, कुहिरोका कारण किसानले उब्जाएको विभिन्न बालीनालीमा ठण्डीजन्य संक्रमण बढेको छ । जाडो असाध्य बढ्दा चौपाय र पन्छी जोगाउन मुस्किल परेको किसानले गुनासो गरेका छन् ।
रातदिन शीतलहर जारी रहँदा सर्लाहीमा सडक नै भिजेको छ । रुखविरुवाका पात शीतले छपक्क भएर भिजेका छन् ।
चिकित्सकले यस्तो प्रतिकूल मौसममा अत्यावश्यक काम पर्दाबाहेक घरभित्रै न्यानो भएर बस्न, बालबच्चा र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।