logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वनका चौकीदार हत्या घटना : शव अस्पताल लगियो, बिहानदेखि पुनः टाउको खोजिँदै


  • उज्यालो अभियान

चौकीदारको टाउको गिँडिएको अवस्थामा शरीरको भाग फेला परेको सागरनाथ वन विकास परियोजनको पलोट क्षेत्र ।

बयलवास, २० पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा बीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आज बिहानदेखि फेरि खोजी सुरु गर्ने तयारी भइरहेको छ ।

सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्ने राइटारखोरका ४७ वर्षीय रामइश्वर महतोको हिजो हत्या भएको थियो । शनिबार बिहान ५ बजेतिर जंगलभित्र रुख काटेको आवाज आएपछि साइकल चढेर गस्तीमा निस्कनुभएका महतो दिउँसो मृत अवस्थामा फेला परेका थिए ।

धारिलो हतियारले बीभत्स हत्या गरिएका महतोको टाउको अहिले बिहान ९ बजेसम्म पनि फेला पर्न नसकेको हो । महतोको टाउको गिँडिएको शव फेला परेको स्थान नजिक पोखरी रहेको छ ।

उनको हत्यापछि टाउको त्यहीँ फालेको हुन सक्ने आशंकामा खोजी गर्न लागिएको छ । प्रहरीले गएराति नै माछा मार्न जान्ने मानिसहरुलाई प्रयोग गरेर पोखरीभित्र जाल हान्न खोजेको थियो तर बाक्लो हस्सु, कुहिरो र शीतलहरका कारण राति सम्भव भएन ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका निमित्त प्रमुख एवं डिएसपी सरोज राईले अब अहिले बिहान जाल हान्ने मान्छे ल्याएर मृतकको टाउको खोजी गर्न लागिएको उज्यालो अभियानसँग बताएका छन् । प्रहरीले मृतकको टाउको गिँडिएको शव भने पोष्टमार्टमका लागि मध्यराति प्रादेशिक अस्पताल मलंगवा लगिसकेको छ ।

घटनास्थलबाट रगत लतपतिएको एक थान बन्चरो बरामद भएको डिएसपी राईले बताए । वनका चौकीदार महतोको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले हिजो दिउँसो नै राइटरखोरकै एक स्थानीयलाई पक्राउ गरे पनि उनीबारे केही बताएको छैन् । गोप्य ढंगले अनुसन्धान जारी नै रहेको प्रहरी बताउँछ ।

पोखरीमा जाल हानेर मृतकको टाउको खोज्न लाग्दा अहिले बिहानैदेखि स्थानीयको भीड भइसकेको छ । प्रहरीले मध्यरातमा शव उठाउँदासम्म पनि स्थानीयहरु घटनास्थलमै बसे ।

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले घटनाको अनुसन्धान र मृतकको टाउको खोजीमा सहयोग गरिरहेको अहिले बिहान उज्यालो अभियानसँग बताएका छन् ।