चौकीदारको टाउको गिँडिएको अवस्थामा शरीरको भाग फेला परेको सागरनाथ वन विकास परियोजनको पलोट क्षेत्र ।
सागरनाथ, १९ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा विभत्स हत्या गरिएको वनका चौकीदार (वन हेरालु) को अहिले राति साँढे ८ बजेसम्म पनि टाउको फेला परेको छैन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरी पनि रहेको छ । मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको हो ।
डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । “शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लैजान मुचुल्का उठाउनेसहितका काम भइसकेको तर टाउको नभेट्दा समस्या परिरहेको छ,” डिएसपी राईले अहिले राति उज्यालो अभियानसँग भने, “गाउँघरतिर जाल हान्न जान्ने मान्छे, खोज्दै छौँ । अब एक पटक जाल हानेरै टाउको खोज्छौँ ।”
स्थानीय वासिन्दाका अनुसार प्रहरीले वन रक्षक महतोको हत्या आशंकामा गाउँकै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन् । प्रहरी अधिकारीहरु शंकास्पद व्यक्तिसँग घटनाबारे सोधपुछमा पनि केन्द्रित छन् । शंकास्पद व्यक्ति घटनामै संलग्न रहे टाउको फेला पार्न सहज हुने आश गरिएको एक सुरक्षा अधिकारीले बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का बिदामा रहेकाले निमित्त प्रमुख डिएसपी राई, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर नितेशकुमार सिंहलगायत प्रहरी अधिकारीहरु दिउँसोदेखि घटनास्थलमा परिचालित भई अनुसन्धानमा लागिपरिहेका छन् ।
आज दिउँसो घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । अहिले रातिसम्म नै घटनास्थलमा बसिरहेका वडाध्यक्ष कार्कीले प्रहरी अधिकारीहरु शंकास्पद व्यक्तिसँग सोधपुछमा केन्द्रित भएको र अन्य प्रहरी घटनास्थलको सुरक्षामा तैनाथ भएका बताए ।
शीतलहरकै बिच गाउँमा ठुलो अप्रिय घटना हुँदा ठूलो संख्यामा स्थानीयसमेत गाउँ नजिकै जंगलको पलोटमा जम्मा भएर बसेका छन् ।
आज बिहान ५ बजेतिर जंगलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो साइकल चढेर त्यसतर्फ गएका थिए ।
महतो आज दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरे ।
खोज्दै जाँदा जंगलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो । घटनास्थलमा आजै साँझ धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाइएको छ ।
वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।
साँझसम्म घटनास्थलमा रहेका सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा एक्लै वन रक्षकको काम गर्ने महतोको निर्ममतापूर्वक हत्या भएको उज्यालो अभियानसँग बताए ।