बागमती, १० पुस – बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको अध्यक्षमा साहित्यकार एवं प्राध्यापक घनश्याम पन्त चयन भएका छन् ।
आज सर्लाहीको बागमती नगरपालिकास्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैयामा सम्पन्न प्रथम अधिवेशनले पन्त अध्यक्ष रहने गरी समाजको ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा गठन गरेको हो । समितिको उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा रामप्रसाद आचार्य, सदस्यहरुमा मीना देवकोटा, टङ्क उप्रेती, मुकेशकुमार मिश्र, केदार सिग्देल, अर्जुन थापा, लक्ष्मी श्रेष्ठलगायत रहेका छन् ।
अधिवेशनकै अवसरमा बुढ्यौलीसम्वन्धी विभिन्न प्रकारका रचनाहरु वाचन गरिएको बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्वोदर काफ्लेले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सर्लाही बागमती निवासी बुढ्यौली साहित्यकार रमेशमोहन अधिकारी र समाजसेवी रमेशकुमार निरौलालाई सम्मानसमेत गरिएको छ ।
साहित्यकार शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको प्रथम अधिवेशन एवं ११ औँ साहित्यिक श्रृङ्खला वाचन कार्यक्रममा विभिन्न ७ जिल्लाका बुढ्यौली साहित्यकारहरुको उपस्थिति रहेको थियो ।