मलंगवा, ३० कात्तिक – एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा आज पनि प्रदर्शन भएको छ ।
असंवैधानिक मुख्यमन्त्री र प्रदेश सभामुखको असंवैधानिक कदमविरुद्ध भन्दै विभिन्न राजनीतिक दलले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । मुख्यमन्त्रीको नियुक्तिपछि असन्तुष्ट रहेका राजनीतिक दलले यसअघि हिजो सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेका थिए ।
सदरमुकाम मलंगवा बजारमा विरोध प्रदर्शन गरी सहीद चोकमा कोण सभा गरेर कार्यक्रम अन्त्य गरिएको प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता सन्जयकुमार यादवले जानकारी दिए । प्रदर्शनमा जसपा, जसपा नेपाल, लोसपा, जनमत, राष्ट्रिय मुक्ति, नेपाली कम्युनिष्ट पार्टीलगायत दलका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।