logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमाले सर्लाहीले कात्तिक २५ गते पालिका र २९ गते जिल्ला भेला गर्ने


  • उज्यालो अभियान

लालबन्दी, २३ कात्तिक – नेकपा एमाले सर्लाहीले जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमको विषयमा बहसका लागि कात्तिक २५ गते पालिका र २९ गते जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ ।

आज लालबन्दी नगरपालिका ६ स्थित जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको मदन आश्रीत भवनमा सम्पन्न जिल्ला कमिटीको सचिवालय बैठकले यस्तो निर्णय गरेको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । प्याकुरेलका अनुसार कात्तिक २५ गते २० वटै पालिकामा पालिका स्तरीय भेलासहित कम्तीमा १२ वटा पालिकामा भेलाको साथसाथै जनप्रदर्शन समेत गर्ने तयारी गरिएको छ ।

कात्तिक २९ गते भने बरहथवामा जिल्लास्तरीय भेला एवं जनप्रदर्शन गर्ने निर्णय भएको उपाध्यक्ष प्याकुरेलले बताउनुभयो । उहाँका अनुसार जिल्ला भेलामा राष्ट्रिय स्तरका नेतालाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने तयारी गरिएको छ । जेनजी आन्दोलनपछि पार्टीको कार्यदिशाबारे आम नागरिक र कार्यकर्तालाई प्रष्ट पार्न यस प्रकारको भेला आयोजना गरिएको एमाले सर्लाहीले जनायो ।

पार्टीको आगामी मंसिर २७, २८ र २९ का लागि काठमाडौंमा तय गरिएको ११ औँ महाधिवेशनको तयारीका लागि पनि पालिका र जिल्लास्तरको भेला आयोजना गरिएको एमालेले बताएको छ । यसकै लागि अहिले वडातहमा भेला तथा बैठक भइरहेका जिल्ला कमिटी उपाध्यक्ष प्याकुरेलले बताए ।

आज प्याकुरेलकै अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला कमिटीको सचिवालय बैठकमा केन्द्रीय सदस्य कमलादेवी महतो, रन्जना सरकार, मधेश प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटी सचिवालय सदस्य, २० वटै पालिकाका अध्यक्ष र अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।