logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मेयर र ‘हाकिम’ माथि वडाध्यक्षको नेतृत्वमा आक्रमणको प्रयास


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १३ कात्तिक – हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि आज साँझ आक्रमणको प्रयास भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी बजारमा रहेको अधिकृत साह बस्दै आएको कोठा (क्वार्टर) मा आएर हरिपुर्वाका केही वडाध्यक्षको नेतृत्वमा स्थानीयले आक्रमणको प्रयास गरेका हुन् । आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र ‘हाकिम’ मिलेर लालबन्दीबाटै नगरपालिकाको कार्यालय सञ्चालन गरी अनियमिता गरेको र पालिकाभित्रका नागरिकको समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।

नगरपालिका कार्यालयले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत साह बस्ने कोठामा रहेका टेबल, कुर्सीसहित अन्य सरसामग्री तोडफोड भएको छ । मेयर र हाकिममाथि आक्रमणको प्रयास भएपछि जोगाउन खोज्दा हरिपुर्वा नगरपालिका–६, का वडाध्यक्ष सामसोगारथ राय यादवको नाक र आँखामा सामान्य चोट लागेको छ ।

तत्कालै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली घटनास्थलमा पुगेर रोकेपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुन पाएन । हरिपुर्वा नगरपालिका ८ का वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमा बस्ने र कार्यालयको कागजात झोलामा राखेर लालबन्दीबाटै नगरपालिका चलाएको आरोप लगाएका छन् ।

चपुर घर भएका प्रमुख प्रशासकीय अधिकृत साहले कार्यालयमा कर्मचारी नियुक्ति गर्दा, विभिन्न ठेक्कापट्टाको फर्म छनौट गर्दालगायत अन्य काममा चन्द्रनिगाहपुरकै मानिसलाई प्राथमिकता दिएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ ।

तर मेयर तेलीले भने जेनजी आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा तोडफोड भएपछि भएका कागजात र उपकरण जलेपछि अब के–कसरी सेवा दिने, भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहँदा एक्कासी अराजक शैलीमा आक्रमण गरिएको अहिले राति उज्यालो अभियानसँग बताएका छन् । उनले जेनजी आन्दोलनमा आगजनी गर्ने कार्याम संलग्नहरु नै आज लालबन्दीमा आएर हुलहुज्जत गरेको समेत आरोप लगाए ।

जिल्लाको दक्षिण पूर्वी भेगको हरिपुर्वा नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतले लालबन्दीमा गोप्यरुपमा बसेर अनियमित किसिमको काम गर्ने गरेको गुनासो बारम्बार आउने गरेको छ ।