logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा छठ पूजाको तयारी पूरा, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै


  • उज्यालो अभियान

छठ पूजाका लागि आज बिहानै लालबन्दी बजारमा बेच्न ल्याइएको उखु । (तस्बीर : उज्यालो अभियान)

रितिक यादव/लालबन्दी, १० कात्तिक – सर्लाहीमा छठपर्वका व्रतालुले छठपूजाको तयारी पुरा गरेका छन् ।

छठपर्वको मुख्य दिन व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन् । आज अर्घ चढाउनका लागि सबै सरसामग्री जुटाएर व्रतालु नजिकको पूजास्थल अर्थात् छठघाटमा जान तयार भएर बसेका हुन् ।

व्रतालुले पर्वको दोस्रो दिन हिजो ‘खरना’ विधी गर्दै छन् । खरनाको दिनबाट व्रतालुले निर्जल उपवास सुरु गरेका छन् । हिजो बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी खाइएको छ ।

छठपर्वका लागि जिल्लामा प्रत्येकजसो खोला किनार, पोखरी, नहर र अन्य जलाशयमा छठघाट तयार पारिएको छ । व्रतालुले छठपूजाका लागि केरा, उखु, अदुवा, नरिवल, मुला, सुठनी, सुपारीलगायतका सामग्री तयार पारिसकेका छन् ।

छठको प्रसादका रुपमा प्रयोग हुने ठेकुवा, भसुवा, कसारलगायतका परिकार पकाएर तयार पारिसकिएको छ । पूजास्थलमा अर्घ दिने सामग्री लाँदा बाँसको टोकरी, नाङ्लो, सिपुलीलगायतको प्रयोग गरिन्छ ।

हरिपुर नगरपालिका ७ चिताइनमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर विकास समितिका अध्यक्ष राजेन्द्र धामीले छठपूजाको तयारी पूरा भएको जानकारी दिए । उनले प्रत्येक व्रतालुले आ–आफ्नो घरमा छठपूजाको सामग्री तयार पारिसकेका जानकारी बताए ।

आज दिउँसो तीन बजेपटि व्रतालुसँगै परिवारका सदस्यसमेतले पूजा सामग्री बोकेर पूजास्थलमा पुग्ने छन् । सर्लाहीमा छठघाट निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कृष्णकुमार कार्कीले लालबन्दी बजारको मध्यभागमा पर्ने डुमडुमे मन्दिर परिसरमा रहेको पोखरीमा सरसफाईसहित टेन्ट गाडेर छठघाट तयार पारिसकिएको बताए ।

पारिवारिक सुःख, समृद्धि र सन्तानको कल्याणको कामना गर्दै छठपर्व मनाउने गरिन्छ । केही वर्ष अघिसम्म मधेशमा मात्रै सिमित छठपर्व अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमालमा समेत मनाउन थालिएको छ ।