हरिवन, ०८ मंसिर – चिसो बढ्न थालेसँगै सर्लाहीका बजारमा न्यानो कपडाको व्यापारमा वृद्धि भएको छ ।
जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवालगायतका स्थानीय बजारमा जाडोयाममा लगाउने न्यानो कपडाको व्यापार बढ्न थालेको हो । स–साना बालबालिकादेखि अन्य उमेर समूहका मानिसले लगाउने ताता कपडाको बिक्री बढेको व्यापारीले बताएका छन् ।
क्रमिकरुपमा चिसो बढ्दै जाँदा ज्याकेट, स्विटरलगायत कपडा बेच्ने पसलमा ग्राहकको भीड देखिन थालेको छ । बजारका कपडा पसल तथा फेन्सी पसलमा ज्याकेट, स्विटर, कोट, गलबन्दी, टोपीलगायत न्यानो कपडाको बिक्री बढेको व्यापारीले बताएका छन् ।
दैनिक पाँच÷सात हजारसम्म बिक्री हुने कपडा पसलमा अहिले जाडोमा लगाइने कपडाको माग बढेकाले दोब्बर बिक्री हुन थालेको व्यापारीको भनाई छ । चिसोबाट जोगिन प्रत्येकजसोले न्यानो कपडाको जोहो गर्न थालेका छन् ।
मंसिर लागेपछि चिसो बढ्दै जान थालेपछि सर्लाहीका कपडा व्यापारीले संघीय राजधानी काठमाडौंसहितका ठाउँबाट धमाधम न्यानो कपडा ल्याइरहेका छन् । जाडोका कारण सिरकडस्नाको व्यापार पनि बढ्न थालेको छ ।
सिरकडस्ना बनाउनेलाई अब जाडोयामभर कामको चटारो पर्ने गरेको छ । जाडोयाममा धेरै मानिस सिरकडस्ना बनाउने ग्राहक खोज्दै प्रत्येजसो गाउँबस्तीमा पुुग्ने गरेका छन् ।