धनकौल, ०७ मंसिर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आज सर्लाहीका विभिन्न स्थानमा पार्टीका नेता, कार्यकर्ताले स्वागत गरेका छन् ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आफ्ना उम्मेदवारको चुनावी प्रचारप्रसार कार्यक्रममा सरिक हुनेक्रममा यहाँ आइपुुगेका महामन्त्री शर्मालाई पार्टीका नेता, कार्यकर्ताले विभिन्न स्थानमा स्वागत गरेका हुन् । रौतहटको इशनाथ नगरपालिकामा आयोजित चुनावी सभा तथा घरदैलो कार्यक्रममा सरिक भई महोत्तरीको रामगोपालपुर जानेक्रममा पार्टीका महामन्त्री शर्मालाई जिल्लाका विभिन्न स्थानमा स्वागत तथा सम्मान गरिएको नेपाली कांग्रेसका नेता गजेन्द्र साहले उज्यालो अभियानसँग बताए ।
आज बिहान रौतहटको धरमपुर घाटबाट सर्लाही प्रवेश गरेका कांग्रेस महामन्त्री शर्मालाई पार्टीका नेता, कार्यकर्ताले हात्तीमा चढाएर सर्लाहीसम्म ल्याएर छाडेका थिए । महामन्त्री शर्मा हात्ती चढेर बागमती पार गर्दै सर्लाही आइपुगे ।
त्यसपश्चात धनकौल गाउँपालिकास्थित नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको निवासमा आइपुुगेका कांग्रेस महामन्त्री शर्मालाई स्थानीय नेता, कार्यकर्ताले स्वागत गरेका छन् ।
धनकौलमा कार्यकर्तासँग भेट गरी महामन्त्री शर्मा ब्र्रह्मपुरीमा कांग्रेस सर्लाहीका सचिव मनोजकुमार यादवका दाई स्वर्गिय प्रमोदकुमार यादव र बसन्तपुरमा नेपाली कांग्रेसका नेता एवं तत्कालिन बसन्तपुर गाविसका अध्यक्ष स्वर्गिय लक्ष्मेश्वर पन्जियारप्रति श्रद्धान्जली व्यक्त गरी महोत्तरीको रामगोपालपुरतर्फ लागेका छन् ।
सर्लाहीमा उपनिर्वाचनको कार्यक्रम नरहेकाले महामन्त्री शर्माको यहाँ कुनै औपचारिक कार्यक्रम नराखिएको कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनायो ।