प्रतिकात्मक तस्बिर ।
फूलजोर, ०७ मंसिर – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा आज बिहान तीनवटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।
दुुर्घटनामा तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका जनाएको छ । आज बिहान साँढे ७ बजेतिर ईश्वरपुर नगरपालिकास्थित बाँके जंगलको अमुवा पुलमा दुुईवटा बस र एउटा ट्रक दुर्घटनामा परेका हुन् ।
बर्दीवासतर्फबाट आइरहेको लु १ ख ८६७० नम्वरको ट्रक मोटरसाइकललाई जोगाउन स्पिड कम गरेका बेला पछाडि आइरहेका दुईवटा बस ठोक्किन पुुगेको इलाका प्रहरी कार्यालय बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । ट्रक पछाडि आइरहेका जनकपुरबाट वीरगन्जका लागि छुटेको ना ७ ख ८६३१ नम्वरको बसलाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख १८७७ नम्वरको बसको पछाडि ठोक्किएको प्रहरीले जनायो ।
ति बस ट्रकमा समेत ठोक्किएका छन् । दुर्घटनामा बिचमा रहेको ना ७ ख ८६३१ नम्वरको बसमा सवार बसधनी महोत्तरीको महोत्तरी गाउँपालिका–३, बस्ने ४० वर्षीय सिधुकुमार मिश्र, सबैभन्दा पछाडि रहेको ना ६ ख १८७७ नम्वरको बसका यात्रु महोत्तरीको जलेश्वर नगरपालिका–४, सुगाभवानीपट्टी टोल बस्ने ४८ वर्षीया रेणुदेवी कर्ण र उनका छोरा २० वर्षीय बिधान्शु कर्ण घाइते भएका छन् । घाइतेमध्ये बसधनी सिधुकुमारको जनकपुर र रेणुदेवीका आमा, छोराको वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका तीनवटै सवारीलाई प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको बयलवासका इन्स्पेक्टर जोशीले बताए ।