logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पर्यटन प्रवर्द्धन गर्न अवलोकन भ्रमण


  • उज्यालो अभियान

हरिवन, १६ असार – सर्लाहीको हरिवन नगरपालिका १ अन्तर्गतका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिएको छ ।

पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत चुरेभेगस्थित हरिवन १ का पर्यटकीय स्थलको स्थलगत अवलोकन भ्रमण गरिएको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमखु आतिथ्यतामा आयोजित अवलोकन भ्रमणमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनाल, प्रहरी निरीक्षक अनिलराज गिरी, हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ, नागरिक समाजका शिवचन्द्र चौधरी, संचारकर्मीलगायतको उपस्थितिमा पर्यटकीय स्थलको भ्रमण गरिएको हो ।

चुरेको रमणीय भूभागमा पर्ने हरिवन १ को पर्यटकीय स्थलको अवलोकन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सिंहले यस क्षेत्रको संरक्षण र पर्यटकीय स्थलको विकास गर्न सके भविष्यमा उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने बताए । उनले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पानीढलो भन्दा निकै तल ल्याएर सो गाउँपालिकाको बोर्ड राखेको विषयमा दुवै जिल्लाका अधिकारीलाई राखेर छलफल गरिने बताएका छन् ।

हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले हरिवन ९ देखि १ को सीमासम्म पयर्टक पदमार्ग खोल्नेदेखि अन्य योजनाका काम अघि बढाइएको बताए । उनले पर्यटक तथा स्थानीयलाई आवातजावत सहज बनाउन हरिवन बजारबाट क्यानखोला जाने सडक धेरै हदसम्म ढलान भइसकेको र बाँकी पनि यो वर्ष बजेट पारेर काम अघि बढाइएको बताए ।

उज्यालो अभियान नेपालकाे आयोजना तथा हरिवन नगरपालिका १ नम्बर वडा कार्यालयको सहयोगमा उक्त भ्रमण सम्पन्न गरिएको हो ।