विभिन्न निर्णयहरुमा हस्ताक्षर गरेर विहिबार मध्यान्ह पद्भार ग्रहण गर्दै श्रम तथा यातायात मन्त्री बेची लुंगेली ।
जनकपुर, १३ चैत – मधेश प्रदेश सरकारकी नव नियुक्त श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले विहिबार पदभार ग्रहण गरेकी छिन् ।
विहिबार मध्यान्ह जनकपुर स्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री लुंगेलीले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नका लागि मातहतका कार्यालयहरुमा टाेकन प्रणाली लागू गर्ने, कार्यालयहरुमा सेवाग्राहीलाई बस्ने प्रतिक्षालय निर्माण गर्ने र शुद्द खानेपानीकाे व्यवस्था मिलाउने, सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण सेवा सुचारु नभएका कार्यालयबाट अविलम्ब सेवा सूरु गर्ने व्यवस्था मिलाउने लगाएत निर्णय गरेकी छिन् ।
राज्यका निकायहरुबाट सवारी चालक अनुमति पत्र वितरण लगायत यातायात क्षेत्रका सेवाप्रति सेवाग्राहीहरुबाट बढिरहेकाे गुनासाे कम गर्दै नागरिकमैत्री सेवा प्रदान गर्नेतर्फ लाग्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।
मन्त्री लुंगेलीलाई मन्त्रालयका सचिब सुरेन्द्र प्रसाद पाैडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए भने सचिब पाैडेलले मन्त्रालयले गर्नुपर्ने महत्वपूर्ण कार्यहरु, जनशक्तिकाे अवस्था, मातहतका निकायहरुकाे बारेमा जानकारी गराएका थिए । प्रदेश अन्तर्गत ८ वटै जिल्लामा रहेका यातायात व्यवस्था सेवा कार्यालयहरु यसै मन्त्रालय अन्तर्गत रहेका छन् ।
सर्लाहीकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ काे ख प्रदेश सभा सदस्यमा दाेस्राे पटक निर्वाचित नेकपा एकीकृत समाजवादीकी नेतृ समेत रहेकी मन्त्री लुंगेलीले गत विहिबार मन्त्री पदकाे शपथ लिएकी थिईन् ।